काठमाडाैंमा साँस्कृतिक नाटक 'नाम्गेलको गाउँ' मञ्चन
२०८१/०२/२३
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा साँस्कृतिक संस्थानको सहकार्यमा बुधबार सास्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान जमलमा नाटक मञ्चन गरिएको थियो ।
प्राज्ञ विष्णु मोक्तानले लेख्नुभएको नाटकलाई प्राज्ञ पुरु लम्सालले नाट्य रुपान्तरण गर्नु भएको हो । नाटकलाई सुशीलसिंह ठकुरीले निर्देशन गर्नुभएको हो । दुुई समुदायको उत्पिडनको कथा भन्ने नाटक ‘नाम्गेलको गाउँ’ले शासक वर्गले ती समुदायमाथि गरेको अन्याय र अत्याचारलाई उजागर गर्ने प्रयास गरेको छ ।
नाटक मञ्चन पश्चात कुलपति निशा शर्माले नाटकमा अभिनय गर्ने कलाकारहरुको प्रशंसा गर्नुहुँदै नाटकमा दर्शाउन खोजेको पहिचानको लडाईं अझै पनि जारी रहेको बताउनु भयो । नाटक नाम्गेलको गाउँलाई एक दिनको प्रदर्शनमा सिमित नगरी दश–पन्ध्र दिनसम्म प्रदर्शन गर्न गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले नाटकलाई जन जागरणको रुपमा अघि बढाउनु पर्ने बताउनु भयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक विभाग प्रमुख प्राज्ञ हिसन बहादुर मगरको संयोजन रहेको कार्यक्रममा नाटकमा संलग्न कलाकार, निर्देशक तथा प्राविधिकहरुलाई प्रमाण पत्र वितरण समेत गरिएको थियो ।
नाटकमा सगुन तामाङ, रामभजन कामत, सुशीला थापा, सानुमाया तामाङ, सन्तोष तामाङ बान्बो, उमाकान्त सापकोटा, अन्जु खड्का, रिजेश तामाङ, निशान चौलागाईँ, सविता तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको थियो ।
कार्यक्रममा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हर्ताम्छली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, प्राज्ञ डक्टर राई, प्राज्ञ टिका पुन पूर्व सदस्य सचिव तथा वरिषठ गीतकार श्यामप्रकाश तमाेट लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
#sanskritisansthan #theatre #namgelkogau #CulturalDrama #Folkdrama