राजधानीमा गुञ्जियो नौमतीका नौ राग

१६ असार, काठमाडौं ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, सङ्गीत विभागको आयोजनामा राजधानीमा आइतबार नौमती बाजामा आधारित नौमतीमा नौ राग कार्यक्रम सम्पन्न भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा कलाकारहरुले नौमति बाजहरुको प्रयोग गरी नौ किसिमका रागहरुको प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हितबहादुर तामाङले कलामा उत्कृष्ठ कला सङ्गीत कलालाई मानिदै आए पनि सबै कलाको आप्mनै विशिष्टतामा उत्तिकै महत्व रहेको बताउनु भयो । उहाँले नेपाली सङ्गीतमा मौलिक पञ्चे बाजा र नौमती बाजाको विशिष्ट महत्व र योगदान रहेको र यसको संरक्षणमा सरकार र सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रज्ञा प्रतिष्ठानले नेपालका कुना कन्दरा रहेका लोक संस्कृति र कलाको संरक्षणका लागि विभिन्न कार्यहरु गर्र्दै आइरहेको जानकारी गराउनुहुँदै त्यस्ता कार्यक्रमहरुलाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनु भयो ।

सङ्गीत विभाग प्रमुख कर्ण गौतमले परियार समुदायमा प्रचलित नौमती बाजाका ३६ राग प्रचलनमा रहेको र ती रागहरु शुभ कार्य र शोक कार्यमा बजाइने गरेको बताउनुहुँदै कार्यक्रममा ती मध्ये विवाह कार्यमा बजाइने नौ राग प्रस्तुत गरिएको बताउनुभयो ।

कार्यक्रममा १२ जना कलाकारहरुले परम्परागत विवाहमा बजाइने रागहरुलाई समेटेर प्रस्तुति दिनुभएको थियो । जसमा नगरा, बटुवा ताल राग, डाँडै ताल राग, दुलाहा पर्साइ, जन्ती पर्साइँ, डाँफे ताल राग र दुलही रुवाउने ताल रागहरुको प्रस्तुति रहेको थियो । कार्यक्रमको अवसरमा कलाकारहरुले नौमती बाजामा सोरठीमा आधारित नचरी भाका, तारु भाका र झलकमान गन्दर्भको बाला जोबन भाका प्रस्तुत भएको थियो । बाद्यवादनमा कमल परियार, मनबहादुर दर्जी, तीलबहादुर दर्जी, दिलबहादुर दर्जी, लालबहादुर दर्जी, नवीन परियार, सागर परियार, सुवास परियार, मदन परियार लगातको समूहले नौमती बाजा प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रमको अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ का विजेताहरुलाई सम्माना सहित पुरस्कृत समेत गरिएको थियो । विश्व सङ्गीत दिवसका दिन विजेता घोषित भएका सात प्रदेशका सात जना विजेताहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा कोशी प्रदेशबाट तेज राई, मधेश प्रदेशबाट लिलाराज दाहाल, बागमती प्रदेशबाट सृजना अर्याल, गण्डकीबाट बाबुराम श्रेष्ठ, लुम्बिनीबाट बसन्तकुमार आचार्य, कर्णालीबाट रामकुमार शाही र सुदुरपश्चिमबाट धीरजनाथ हुनुहुन्थ्यो । उहाँहरुलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपला सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्य सचिव कुश्मा महरा, प्राज्ञ परिषद सदस्यहरु डक्टर राई, हिसन बहादुर मगर, चेतन सापकोटा, बखतबहादुर हमाल, टिका पुन, सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुन, जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम मल्ल कुमाखी लगायत सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।