विश्व सङ्गीत दिवसमा राष्ट्रिय गीत लेखन प्रतियोगिताको नतिजा सार्वजनिक तथा नेपाली समाज र सङ्गीत विषयक अन्तरक्रिया सम्पन्न
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विश्व सङ्गीत दिवसको अवसरमा ‘नेपाली समाज र सङ्गीत’ विषयक अन्तरक्रिया कार्यक्रम तथा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१को नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ ।
प्रतिनिधि सभा सदस्य एवं लुम्बिनी प्रदेशका पूर्व सभामुख पूर्ण घर्तीज्यूको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाली समाज र सङ्गीतका विषयमा विचार विमर्श एवं अन्तरक्रिया कार्यक्रम अषाढ ७ गते प्रज्ञा प्रतिष्ठानमा सम्पन्न गरेको हो ।
कार्यक्रममा उपकुलपति शम्भु राईले ‘राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१’ को नतिजा सार्वजनिक गर्नुहुँदै सातै प्रदेशका सात उत्कृष्ट प्रतियोगीहरुको नाम घोषणा गर्नुभएको थियो ।
गणतन्त्र दिवसको अवसर पारेर प्रज्ञा प्रतिष्ठानले ‘राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१को सूचना प्रकाशित गरेपश्चात मापदण्ड अनुसार देशैभरबाट १९३ वटा गीतहरु प्राप्त भएकामा कोशी प्रदेशका तेज राई(नपाली भाषा), मधेश प्रदेशका लिलाराज दाहाल(नेपाली भाषा), बागमती प्रदेशका सिर्जना अर्याल(नेपाली भाषा), गण्डकी प्रदेशका बाबुराम श्रेष्ठ(नेपाली भाषा), लुम्बिनी प्रदेशका बसन्तकुमार आचाय(नेपाली भाषा)्, कर्णाली प्रदेशका रामकुमार शाही (नेपाली भाषा), र सुदुरपश्चिम प्रदेशका धीरज नाथ (डोटेली भाषा) उत्कृष्ट हुन सफल हुनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्ण घर्तीले सङ्गीतका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रमले विश्व सङ्गीत दिवसको महत्वलाई उजागर गरेको बताउनुहुँदै नेपालमा बसोबास गर्ने हरेक जाति र समुदायका आफ्नै किसिमका सङ्गीत र बाजाहरु रहेकोमा तीनको व्यवसायिकतालाई प्रवद्र्धन गर्न राज्यको ध्यान नपुगेको औल्याउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभाध्यक्ष एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले यस्ता अन्तरक्रियाले नेपाली सङ्गीतको बाटो तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै नेपाली सङ्गीतमा रहेका विकृति र विसङ्गतीलाई न्यनीकरण गर्न प्रज्ञा–प्रतिष्ठानले विभिन्न चरणमा छलफल गर्दै आएको जानकारी गराउनुहुँदै सांस्कृतिक संघ संस्थाहरुमार्फत लिखित सुझावको अपेक्षा समेत गर्नु भयो ।
कार्यक्रममा वरिष्ठ गीतकार विश्व वल्लभ, गीतकार प्रमनाथ अधिकारी, प्राज्ञ माधव प्रधान, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा, जनसांस्कृतिक महासंघ नेपालका उपाध्यक्ष डम्बर रोकाया, नृत्य निर्देशक संघका अध्यक्ष भुवन श्रेष्ठ, गायक चिरन पुन, हेमराज आश्रम, आना इस्टर, झंक बुढामगर, गायिका निलिमा पुन लगायतले नेपाली समाज र सङ्गीतका विभिन्न पक्षहरुका बारेमा आफ्ना धारण राख्नुभएको थियो ।
सदस्य सचिव कुश्मा महराले सहजीकरण र सङ्गीत विभाग प्रमुख कर्ण गौतमले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्यहरु टिका पुन, चेतन सापकोटा, बखत बहादुर हमाल, डक्टर राई प्राज्ञ सभा सदस्य महेश्वर सुनार, कला संस्कृति सम्बद्ध विभिन्न संस्थाका पदाधिकारीहरु एवं विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।