'सामाजिक जागरणमा नेपाली नाटकको भूमिका' विषयक परिसंवाद कार्यक्रम सम्पन्न

२०८१ साल असार १९ गते ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नाटक विभागद्वारा बुधबार प्रज्ञा प्रतिष्ठानको सभा हलमा सामाजिक जागरणमा नेपाली नाटकको भूमिका विषयक परिसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको अध्यक्षता तथा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा सामाजिक जागरणमा नेपाली नाटकको भूमिका विषयक परिसंवाद कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य पुरु लम्सालले ‘समाजिक जागरणमा नेपाली नाटकको भूमिका’ विषयमा तयार पारिएको लघु अनुसन्धान प्रस्तुत गर्नुभएको थियो । प्राज्ञ लम्सालले डबली र लोक नाटक, सडकनाटक, गीतिनाटक÷अपेरा , कचहरीनाटक, मुक्तरङ्गमञ्च र रेडियो नाटकलाई आफ्नो लगु अनुसन्धानका आधारहरुका रुपमा प्रस्तुत गर्नु भएको छ । उहाँले लघु अनुसन्धानमा मैथिली नाट्य इतिहास, सामाजिक जागरण, रुपान्तरणको प्रभाव, २०४६ साल सम्मको अवस्था, बहुदलपछिको नाट्य गतिविधि, युद्धकालिन अपेरा र जनसांस्कृतिक परिवारहरु र वर्तमान अवस्था लगायतका पक्षलाई औल्याउने प्रयास गर्नुभएको छ ।

कार्यक्रममा नाट्य अध्येयता गीता सापकोटा र संस्कृतिकर्मी तथा समालोचक इश्वरचन्द्र ज्ञवालीले प्रस्तुत लघु अनुसन्धानमाथि टिप्पणी गर्नुभएको थियो । टिप्पणी गर्दै टिप्पणीकारहरुले प्रस्तुत लघु अनुसन्धानको प्रशंसा गर्र्दै छुटेका र समावेश गर्नुपर्ने विषयवस्तुहरुलाई थप गरी अझै समृद्ध बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति शम्भु राईले वृहत अध्ययन र अनुसन्धानका लागि प्रज्ञा प्रतिष्ठानसँग श्रोत साधनको कमी भएता पनि यस्ता कार्यहरुलाई निरन्तरता दिइरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले लगुअनुसन्धानको शीर्षक प्रष्ट नभएको औँल्याउँदै ‘नेपाली नाटकका’े स्थानमा ‘नेपालीय नाटक’ शब्दको प्रयोग गर्नु सुझाउनु भयो । उहाँले नेपालीय शब्दले नेपाली लगायत नेपालका सम्पूर्ण भाषाहरुलाई समेट्ने बताउँनुहुँदै यसको प्रयोगमा जोड दिनुभयो । बोल्ने क्रममा उहाँले यस्ता अनुसन्धान पत्र तयार पार्दा उद्देश्य, लक्ष्य र सिमा निर्धारण गरेर अगाडि बढे त्यसले सार्थकता पाउने बताउनुभयो ।

नाटक विभाग प्रमुख प्राज्ञ हिसन बहादुर मगले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सामाजिक जागरणमा नेपाली नाटकको भूमिकालाई उजागर गर्न परिसंवाद कार्यक्रमको आयोजना गरिएको बताउनुहुँदै यो अनुसन्धानकाे प्रारम्भिक खाका भएको जानकारी समेत गराउनु भयो ।

कार्यक्रममा जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष भीम मल्ल कुमाखी, नाट्यकर्मी प्रविण पुमा, जनगायक टेक बहादुर बमपाखी लगायतले नेपाली समाजको रुपान्तरण्मा जनयुद्धको विशेष भूमिका रहेको चर्चा गर्र्द अनुसन्धान पत्रमा जनयुद्धकालिन नाट्य गतिविधिलाई अझ प्रभावकारी रुपमा समावेश गर्न सुझाउनु भयो । 

प्राज्ञ सभा सदस्य महेश्वर सुनारले सहजिकरण गर्नुभएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा, ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य एव प्राज्ञ सभा सदस्य लगायत नाट्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।