‘नेपाली नाटकमा विचारधारात्मक प्रश्न’ विषयक समीक्षात्मक गोष्ठी सम्पन्न

२०८०/१२/२५

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नाट्य विभागद्वारा ‘नेपाली नाटकमा विचारधारात्मक प्रश्न’ विषयक समीक्षात्मक गोष्ठी सम्पन्न गरेको छ । आइतबार दिउँसो प्रज्ञा–प्रतिष्ठानको कार्यालय नक्सालमा आयोजना गरिएको उक्त गोष्ठीमा अधिकांश वक्ताले नेपाली नाटकको मूल विचारबारे अध्ययन—अनुसन्धान गरी दिशानिर्देश गर्न पर्ने बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलको अध्यक्षता रहेको गोष्ठीमा डा. अशोक थापाले एक अध्ययन पत्र प्रस्तुत गर्दै नाटकमा विचारधारात्मक प्रश्न मुख्य रहेको दाबी गर्नुभयो । उहाँले नेपाली नाटकको अध्ययनको क्रममा राजनीतिक सामाजिक व्यवस्था र लेखन दुवैले एक अर्कालाई प्रभाव पारेको आफूले पाएको बताउनुभयो । आफ्नो अध्ययन—पत्रलाई ‘बाँझो जग्गामा एउटा मूल रोप्न खोस्रे जस्तो मात्र’ बताउनुभएको उहाँले नेपाली नाटक लेखनमा विचारधारात्मक नौ वटा सूचक रहेको प्रस्तुत गर्नुभयो ।
नेपाली नाटकमा मूलतः आध्यात्मिक र भौतिकवादी विचारको प्रभाव रहेको चर्चा गर्नुभयो । आधुनिक नेपाली नाटक लेखन शुरुवातसँगै ऐतिहासिक भौतिकवादी विचारधाराका नाटक लेखिन थालेको र त्यो परम्परा अहिले कायम रहेको उनले बताउनुभयो । त्यसै गरी आधुनिक नेपाली नाटक लेखनमा नारीवादी विचार नाट्यसम्राट बालकृष्ण समले २०३३ सालमा ‘स्वास्नी मान्छे’ नाटक लेखेर प्रवेश गराएको पनि दाबी गरे, ‘‘चोभारको गुफामा लगेर उहाँ (बालकृष्ण सम)ले गुफाभित्रको संसारलाई थुप्रै नारीहरुले चलाएको, नारीहरुले शासन गरेको सेटअप परिकल्पना गरेर स्वास्नी मान्छे लेख्नुभयो ।’’ पछिल्लो समय नेपाली नाट्य लेखनमा नारीवाद सशक्त रुपमा आइरहेको उहाँको जिकिर थियो । 
यसरी नै विजयबहादुर मल्ल र गोविन्दबहादुर मल्लका नाटकहरुबाट शुरु भएको व्यक्ति र समाजको मनोविज्ञानलाई लेख्ने परम्परा पनि निरन्तर नेपाली नाटक लेखनको एक विचारधारा रहेको उनले बताउनुभयो। पारिजात र ध्रवचन्द्र गौतमले शुरु गरेको अस्तित्ववादी—विसङ्गतिवादी विचारका नाटक लेखन परम्पराको पनि नेपाली नाटक लेखनमा उत्तिकै प्रभाव रहेको चर्चा गर्दै उनले पछिल्लो समयमा उत्तरआधुनिक विचारका नाटक रङ्गमञ्चमा प्रवेश गरेको बताउनुभयो । उनले सन् ६० को दसक यता आएको ‘बहुल चिन्तन’को वकालत गर्ने उत्तरआधुनिकताको प्रभाव नेपाली नाटकका संरचना र विचार दुवै पक्षमा परेको बताउनुभयो । 
डा. थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाली नाटकमा बहुल भाषी, बहुल जाति, बहुपहिचानका चिन्तन जबर्जस्त प्रवेश गर्न थालेको बताउनुभायो । उनले भने, ‘‘बहुलभाषी हुनु, बहु सांस्कृतिक हुनु राम्रो हो, इन्द्रेनी जस्तो हुने हो । इन्द्रेनी एउटै रङ्गको भए सुन्दर हुँदैनथ्यो ।’’
डा. थापाको अध्ययन पत्रमाथि अध्येताद्वय केशव अधिकारी र भारती न्यौपाने टिप्पणी गरेका थिए भने गोष्ठीमा उपस्थित विद्वतजनले समेत आफ्नो धारणा राखेका थिए । टिप्पणीकर्ता अधिकारीले पछिल्लो समयमा आएको बहुसांस्कृतिकवादलाई समेट्ने चुनौती रहेकोले बहुसंस्कृतिभित्र रहेको एकत्वचाहिँ सिङ्गो नेपाली संस्कृति हो भनेर निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । त्यसै गरी डा. थापाले कोडिङ गरेको धार्मिक–आध्यात्मिक धारालाई शास्त्रीयतावादी धारा भन्न उपयुक्त हुने पनि बताए । त्यसो गरे तत्कालीन समाज, संस्कृति र सामाजिकताका कुरालाई पनि डो¥याउन सक्ने सुझाव दिनुभयो । त्यसै गरी दलित र जनजातीय धारालाई सीमान्तीय भन्न उपयुक्त हुने तर दलित र जनजातिले मात्र समग्र सीमान्तकृत मुद्दालाई समेट्न नसक्ने बताउनुभयो ।
अर्का टिप्पणीकार भारती न्यौपानेले डा. थापाको अध्ययन पत्र आगामी दिनमा शोधअनुसन्धान गर्नेहरुको लागि गतिलो सन्दर्भ सामग्री बन्ने बताउनुभायो । टिप्पणीकार न्यौपानेले समाज विकासक्रमसँगै नयाँ विचारधाराहरु साहित्यका सबै विधाले ग्रहण गर्नु सकारात्मक रहेको बताउँदै बहसलाई बृहत् बनाउने भन्दा पेन्सिल तिखारेजस्तो ‘न्यारो डाउन’का रुपमा लैजान सके फलदायी हुने विचार व्यक्त गर्नुभयो । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छालीले विचारधारात्मक प्रश्नलाई दर्शनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । सबै विचारधारालाई प्राकृतिक न्याय सिद्धान्तका आधारमा सापेक्षित रुपमा बुझ्नुसके मात्र सही निष्कर्षमा पुग्न सकिने कुलपति हार्ताम्छालीको राय थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले समय अनुसार नाटकमा प्रस्तुत गरिने विचारधारामा पनि परिवर्तन हुने मात्र नभएर विम्ब र प्रतीकले दिने भाव र अर्थमा पनि फरक पर्ने बताउनुभयो । कथा, उपन्यास, कविता, कचहरी, टेली भिजन, सडक नाटक, प्रहसन आदि धेरै विधा र प्रविधिमा गरिएका नाटकलाई पनि अध्ययनमा समेट्न ध्यानाकर्षण गराउँदै कुलपति शर्माले अध्ययनपत्र प्रस्तोता र टिप्पणीकारलाई धन्यवाद् व्यक्त गर्नुभयो ।
नाटक विभाग प्रमुख प्राज्ञ हिसनबहादुर मगरले आगामी दिनमा नेपाली नाटकको मौलिक विचार निर्दिष्ट गर्न गोष्ठी आयोजना गरिएको बताउनुभयो । प्राज्ञसभा सदस्य पुरु लम्सालले सञ्चालन गर्नु भएको गोष्ठीमा प्राज्ञ महेश गोदार, संस्कृतिकर्मी चिरन पुन, नाट्यकर्मी अशान्त शर्मा, साहित्यकार वीरप्रसाद भन्सारी, नाट्यकर्मी महासङ्घका अध्यक्ष राजेन्द्र रिमाल, महासचिव जे.बि. डि.सी. र नाट्य निर्देशक प्रभावकार न्यौपानेले पनि अध्ययनपत्र उपर आ—आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । 
प्राज्ञ सभा सदस्य पुरु लमसालले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरु डाक्टर किरात, टीका पुन, प्राज्ञसभा सदस्य देवकुमार चौधरी, महेश्वर सुनार, नाट्य निर्देशक केदार श्रेष्ठ, कवि राजा माबो, जसिहव थुलुङ लगायत विभिन्न नाट्यकर्मी र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।