‘लमजुङे ठाडोभाका’ पुस्तक प्रकाशित

लमजुङ जिल्ला तथा आसपासका जिल्लामा समेत प्रचलनमा रहेको ठाडोभाका लोकगीत सम्बन्धी अनुसन्धानात्मक पुस्तक लमजुङे ठाडोभाका प्रकाशित भएको छ । प्रज्ञा प्रतिष्ठानको लोकसङ्गीत विभागको  स्वीकृत कार्यक्रम अन्तर्गत पुरा भएको अनुसन्धान पत्रलाई पुस्तकको स्वरुप दिई प्रकाशन गरिएको हो । लमजुङ र आसपासका जिल्लामा दुरा जातिमा प्रचलित ठाडोभाकालाई संरक्षण, सम्बद्र्धन र अभिलेखिकरण गर्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गरिएको हो । 

अनुसन्धाता मुक्तिनाथ घिमिरेले आ. व. २०७६÷७७ मा लोकसङ्गीत विभागको अनुसन्धान परियोजना अन्तर्गत तयार पार्नु भएको अनुसन्धान पत्रलाई प्रतिष्ठानले पुस्तकको रुप दिई प्रकाशन गरेको हो । यस पुस्तकलाई  पाँच अध्याय र परिशिष्ट खण्डमा विभाजन गरी प्रस्तुत गरिएको छ । अध्याय एकमा ऐतिहासिक पृष्ठभूमि, दुईमा दुरा जातिको परिचय, वासस्थान र त्थ्याङ्क, तीनमा  दुरा जातिका संस्कार, धर्म तथा परम्परा, चारमा दुरा जातिको संस्कृति, पाँचमा लामजुङे ठाडोभाका गीतको चिनारी, उत्पत्ति र विकास तथा परिशिष्ट खण्डमा ठाडोभाका गीतका विशेषताका बारेमा उल्लेख गरिएकोछ । 

लोक सङ्गीत विभाग प्रमुख प्राज्ञ हरिदेवि कोइरालाले यस अनुसन्धानात्मक पुस्तकमा साहित्यिक, भाषिक, साङ्गीतिक, नाटकीय, दार्शनिक, मनोवैज्ञानिक, अस्तित्ववाद, शैक्ष्णिक, समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोण समेतको विश्लेषण गरिएको बताउनुभयो । पुस्तकमा ठाडोभाकाका सर्जक देउबहादुर दुरादेखि आधुनिक पुस्ताका याुवायुवतीका गीतसमेतर्ला समेटेर तिनको विश्लेषण गरिएको प्राज्ञ कोइरालाले बताउनु भयो ।