१४ औँ प्राज्ञ सभा सम्पन्न

२०८० फागुन २१ गते ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका १४ औँ प्राज्ञ सभाको समुद्घाटन समारोह सोमबार रुसी साँकृतिक केन्द्र, कमलपाेखरीमा सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्यूको प्रमुख आतिथ्यता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीज्यूको विशिष्ठ आतिथ्यतामा १४ औँ प्राज्ञ सभाको समुद्घाटन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुदन किरातीज्यूले ‘अन्तराष्ट्रिय मञ्चमा नेपाली समाजको खास प्रतिनिधित्व गर्ने गीत सङ्गीत र नाट्य के हो, कुन कुन हुन र कसरी गर्नुपर्छ त्यसको गहिरो अनुसन्धान गर्नुपर्छ’’ भन्नु हुँदै मौलिक नेपाली सङ्गीत, नाट्य, कलाको विश्वले चिन्नेगरी खोज अनुसन्धान गर्नु पर्ने अभिभारा यस प्रज्ञा प्रतिष्ठानको भएको बताउनु भयो ।

राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीज्यूले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल गणतन्त्रात्मक मुलुक भएसँगै एउटै भाषा एउटै भेष भन्ने भाष्य परिपर्तन भएको बताउनुहुँदै देशका सबै भाषा, कला संस्कृतिलाई समृद्ध पार्र्दै प्रज्ञा प्रतिष्ठानको नीति तथा कार्यक्रममा समेत यसलाई महत्वका साथ समावेश गर्नु पर्ने आवश्यकता अाैँल्याउनु भयो ।

कार्यक्रममा बोल्दै कुलपति निशा शर्माले प्रज्ञा प्रतिष्ठानले विविध कार्यक्रम र अनुसन्धानात्मक कार्यहरु निरन्तर गर्दै आएको जानकारी गराउनुहुँदै बौद्धक कामको परिणाम देखिनलाई समय लाग्ने बताउनु भयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले प्रज्ञा प्रतिष्ठानहरुको काम ज्ञानको खोज तथा अनुसन्धान गर्नु हो भन्नुहुँदै कला संस्कृतिलाई समृद्ध बनाउन नेपाली मौलिक कला संस्कृतिको जरासम्म पुग्नुपर्ने बताउनु भयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले स्वागत मन्तव्य राख्दै प्रज्ञा प्रतिष्ठानको गतिविधि तथा नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

साँस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले सहकार्य र समन्वयमार्फत कला र संस्कृतिको जगेर्नामा जोड दिनु भयो ।

सदस्य सचिव कुश्मा महराले सहजीकरण गर्नु भएको प्राज्ञ सभा समुद्घाटन समारोहमा कलाकारहरुले स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए । समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद सदस्यहरु, सभा सदस्यहरु लगायत गीत सङ्गीत नाट्य क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

समुद्घाटन समारोह पश्चात नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे सभा हलमा कुलपति  निशा शर्माकाे अध्यक्षतामा बन्द सत्र सुरु भएकाे  थियाे । बन्द सत्रमा ०७९/८० र ८०/८१काे दाेस्राे त्रैमासिकसम्मकाे अाय व्यय अनुमाेदन र  केही संसाेधनसहित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार कार्यविधि र कर्मचारी कर्जा/सापटी कार्यविधि पारित गरिएकाे थियाे ।