‘प्राज्ञिक भेला २०८१’ सम्पन्न

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा मिति २०८१ मङ्सिर १७ गते सोमबार   ‘प्राज्ञिक भेला २०८१’ ७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नु भएको भेलामा सङ्घीय, प्रादेशिक र पालिका स्तरमा गठन गरिएका भाषासाहित्य, ललितकला, सङगीतनाट्य विधाका प्रज्ञा–प्रतिष्ठानहरु सहभागी भएका थिए । 
भेलालाई सम्बोधन गर्नु हुँदै माननीय मन्त्री पाण्डेले सङ्घीय राज्य व्यवस्थाको मर्म अनुरुप गठन गरिएका प्राज्ञ–प्रतिष्ठानहरुले राष्ट्रलाई सही बाटामा लान सहयोग पु¥याउनुपर्ने बताउनुभयो ।

 

प्राज्ञहरूले देशको थिङ्कट्याङ्का रूपमा काम गर्नुपर्ने बताउँदै उहाँले केन्द्र, प्रदेश र पालिकास्तरमा गठन भएका प्रज्ञा–प्रतिष्ठानबिच एकरूपता र तिनले गर्ने कार्यबिच सीमाङ्कन हुनुपर्ने धारणा राख्नुभयो । साथै मन्त्री पाण्डेले देश र समाजको हितका लागि प्राज्ञिक जगत्ले चेतनाको निर्माण, नैतिक मूल्य–मान्यताको विकास र सुशासनको प्रत्याभूतिका लागि मार्गनिर्देश गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले जनताले लडेर ल्याएको सङ्घात्मक प्रणालीका कारण सरकारका तीनै तहमा विधिवत् रुपमा प्रज्ञा–प्रतिष्ठानहरु गठन गर्न सम्भव भएको भन्दै कुनै पनि व्यवस्थालाई सफल बनाउनका लागि प्राज्ञिक सत्ताले ‘सफ्ट पावर’को भूमिका खेल्ने बताउनुभयो । उहाँले गणतन्त्र स्थापनापछि नयाँ मूल्यमान्यतामा गठित प्रज्ञा–प्रतिष्ठानहरुले गणतन्त्रात्मक र सङ्घात्मक विचारलाई पृष्ठपोषण गर्नुपर्ने पनि प्रष्ट पार्नुभयो । 

 
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले ‘टिमवर्क’ अनिवार्य हुने सङ्गीत र नाट्यविधाका लागि सरकारले वैज्ञानिक आधारमा सरकारले बजेट विनियोजन गर्नु पर्ने विचार राख्नुभयो । उहाँले प्राविधिक, जनशक्ति र आर्थिक रुपमै सङ्गीत तथा नाट्य विधा महङ्गो हुने भन्दै सिमित बजेटका कारण चाहेर पनि धेरै काम गर्न नसकिएको धारणा राख्नुभयो । उहाँले सबै तहका प्रज्ञा–प्रतिष्ठानहरुलाई सरकारबाट भौतिक पूर्वाधाले सम्पन्न गराउन अत्यावश्यक रहेको बताउनुभयो । 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भेलाले सामाजिक रूपान्तरणमा हाम्रो कला, संस्कृतिलाई कसरी जोड्ने भन्ने विषयलाई उठाएको बताउनुभयो । उहाँले भेलामा कला, साहित्य, संस्कृति, गीत–सङ्गीतलगायतका समाजसँग जोडिने विषय लोक, भोक र सोखमा आधारित रहेर विशेष छलफल भएको बताउनुभयो ।
 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले स्वागत गर्नु हुँदै भेलाले एकीकृत योजना निर्माण गरी त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न मार्ग निर्देश समेत गर्ने बताउनुभयो । 
भेलामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी,  र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले आफूले नेतृत्व लिएका प्रतिष्ठानका विविध विषय, आगामी योजना, कार्यक्रम, प्रदेश तथा पालिकास्तरमा गठन गरिएका प्रज्ञा–प्रतिष्ठानबिच एकरूपता लगायतका विविध विषयमा चर्चा गर्नुभएको थियो ।

 


भाषा आयोगका सदस्य डा.पुस्करराज भट्टले नेपालका विभिन्न लोपोन्मुख भाषा, संस्कृतिको संरक्षणमा आयोगले काम गर्दै आएको बताउँदै उहाँले भेलाले निर्णय गरेको सम्बन्धित क्षेत्रमा आयोगले सहकार्य गर्ने बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको संस्कृति महाशाखाअन्तर्गतको संस्कृति शाखाका उपसचिव शिवराज रेग्मीले संस्कृति नीति, सङ्ग्रहालय ऐन, प्रतिलिपि ऐन, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण तथा व्यवस्थापन ऐन, प्राचिन स्मारक संरक्षण ऐनका बारेमा चर्चा गर्नुभयो । उहाँले मन्त्रालयले सम्बन्धित विषयमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सहसचिव कृष्णप्रसाद भट्टराई, गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले पनि धारणा राख्नुभएको थियो ।


समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल प्रज्ञा–प्रतिष्ठानसँगै गण्डकी प्रज्ञा–प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान, आँबुखैरनी वाङ्मय परिषद्, भरतपुर प्रज्ञा–प्रतिष्ठान, सुनापति प्रज्ञा–प्रतिष्ठान, रत्ननगर वाङ्मय परिषद्, नीलकण्ठ प्रज्ञा–प्रतिष्ठान, माडी नगरपालिका, गल्याङ प्रज्ञा–प्रतिष्ठान, वालिङ प्रज्ञा–प्रतिष्ठान, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठान, बर्दघाट प्रज्ञा–प्रतिष्ठान, खजुरा प्रज्ञा–प्रतिष्ठान, भीरकोट प्रज्ञा–प्रतिष्ठान, महाङ्काल प्रज्ञा–प्रतिष्ठान, बिर्तामोड भाषा साहित्य कला प्रतिष्ठान, लालबन्दी नगर वाङ्मय परिषद्, कोहलपुर वाङ्मय प्रतिष्ठान, बेलवारी प्रज्ञा–प्रतिष्ठान, कपुरकोट कला, साहित्य संस्कृति परिषद्, कालीगण्डकी प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर वाङ्मय कला प्रतिष्ठान, ठाकुरबाबा प्रज्ञा–प्रतिष्ठान, व्यास नगर प्रज्ञा–प्रतिष्ठान, कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान, ललितपुर, मैथिली विकास कोषका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । उहाँहरूले प्रज्ञा–प्रतिष्ठानहरूबिचको एकरूपता र सहकार्यमा जोड दिनुभएको थियो । भेला ७ बुँदे घोषणा पत्र जारी गर्दै समापन गरिएको थियो ।

 

 


प्राज्ञिक घोषणा पत्र २०८१
मिति २०८१ मङ्सिर १७ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान, तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री माननीय श्री बद्रीप्रसाद पाण्डेज्यूको प्रमुख आतिथ्यमा सम्पन्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा आयोजित प्राज्ञिक भेला–२०८१ मा उपस्थित भएका देशभरका सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठानरप्राज्ञिक संस्थाहरूका प्रमुखरप्रतिनिधिहरूबाट निम्नानुसार घोषणा–पत्र जारी गरेका छौँ ।
१. हाल गठन भएका र भविष्यमा गठन हुने प्रदेश र पालिका स्तरका प्रतिष्ठानरप्राज्ञिक संस्थाहरूको उद्देश्य, नामकरण, गठन, कार्यविधि आदिका बिचमा एकरूपता कायम गर्ने र यसको समन्वय एवं नीति निर्माणका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्ने ।
२. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठानरप्राज्ञिक संस्थाहरूका बिचको सम्बन्ध र समन्वयको नीति निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत सरकारसमक्ष अनुरोध गर्ने ।
३. सङ्घीय स्तरमा वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रका लागि तीनओटा प्रज्ञा–प्रतिष्ठान र विज्ञान प्रविधि क्षेत्रमा अलग्गै प्रज्ञा–प्रतिष्ठान रहेका तर प्रदेश र पालिका स्तरमा यी चारओटै विषय क्षेत्र समेटेर एउटै प्राज्ञिक संस्था निर्माण गर्नुपर्नेमा हाल गठन भएका प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूमा यी चारओटै विषय क्षेत्र समेटिएको पाइँदैन । यसर्थ विज्ञान प्रविधि क्षेत्रसमेत संस्कृतिका सबै क्षेत्र समेटेर प्राज्ञिक संस्थाको क्षेत्र विस्तार गर्ने ।
४. संस्कृतिकर्मी, स्रष्टा, कलाकारका साथै प्रतिष्ठानरप्राज्ञिक संस्थाहरूमा कार्यरत कर्मचारीहरूलाई सरकारी अस्पतालबाट स्वास्थ्योपचार सुविधा उपलब्ध गराउनका लागि पहल गर्ने ।
५. सङ्घ, प्रदेश र पालिका स्तरका प्रतिष्ठानहरूका कार्यक्रम, अनुसन्धान तथा प्रकाशनहरूको जानकारीको आदानप्रदान गर्ने, तिनको अभिलेखन गर्ने र उही कामको पुनरावृत्ति नगर्ने ।
६. वाङ्मय, ललितकला, नाट्य, सङ्गीत क्षेत्रको अध्ययनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्न पहल गर्ने र प्रतिष्ठान गठन गर्न बाँकी रहेका प्रदेश तथा पालिकाहरूमा प्रतिष्ठानरप्राज्ञिक संरचना निर्माणका लागि आवश्यक पहल गर्ने ।
७. यसअघि २०८० साउन १३ गते पोखरामा भएको प्रज्ञा पोखरा घोषणा–पत्र २०८०, मिति २०८० पौष १३ गते भएको प्राज्ञिक भेला–२०८० को काठमाडौँ घोषणापत्र २०८०, मिति २०८१ साउन १२ गतेको प्राज्ञिक सम्मिलनका घोषणाको कार्यान्यवनका लागि आवश्यक पहल गर्ने ।