साताब्यापी नृत्याक्षर विज्ञान कार्याशाला–२०८१ सम्पन्न ४० जना प्रशिक्षार्थी सहभागी
साताब्यापी नृत्याक्षर विज्ञान कार्याशाला–२०८१ सम्पन्न
४० जना प्रशिक्षार्थी सहभागी
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान नृत्य विभागले साताव्यापी नृत्याक्षर विज्ञान कार्यशाला–२०८१ सम्पन्न ग¥यो ।मिति २०८१ चैत १३ गते बुधबार एक समारोहका बिच शुरु गरिएको कार्यशालाई चैत १९ गते मङ्गलबार एक कार्यक्रमका बिच समापन गरिएको थियो ।
वरिष्ठ नृत्य गुरु भैरवबहादुर थापाद्वारा लिखित ‘नृत्याक्षर विज्ञान’मा आधारित भएर प्रशिक्षण दिइएको कार्यशालामा ४० जना प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षार्थीलाई प्रज्ञा–प्रतिष्ठानको तर्फबाट प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
कार्यशालालाई चैत १३ गते बुधबार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले पानसमा दीप प्रज्ज्वलन गरी शुरुवात गर्नु भएको थियो ।
कार्यशाला समुद्घाटन सत्रका प्रमुख अतिथि राईले प्रज्ञा–प्रतिष्ठानको लागि नृत्याक्षर विज्ञान कार्यशाला एक ऐतिहासिक अवसर भएको बताउनु भएको थियो । शुरुमा कलाकारप्रति हेर्ने सामाजिक दृष्टिकोण सकारात्मक नरहेको चर्चा गर्नु हुँदै उहाँले अहिले कलाकारहरुले त्यो दृष्टिकोणलाई चिर्दै चिर्दै राज्यलाई कलाको लागि प्रज्ञा–प्रतिष्ठानजस्ता संस्थाहरु गठन गर्न बाध्य बनाएको पनि बताउनुभयो । उहाँले नयाँ पुस्ताका कलाकारलाई अघिल्ला पुस्तालाई भन्दा निकै सहज वातावरण बन्दै गएकोले त्यसको प्रचुर अवसर लिन अनुरोध पनि गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ नृत्य गुरु भैरवबहादुर थापाले आफूले बिकसित गरेको नृत्याक्षर विज्ञानमा आधारित भएर प्रज्ञा–प्रतिष्ठानले कार्यशाला सञ्चालन गर्न लागेकोमा आफू पुरस्कृत भएको अनुभूति प्रकट गर्नुभयो । आफूले ६० वर्षभन्दा बढी नृत्य विधामा अनुसन्धान गरी थप पाँच वर्ष प्रयोगात्मक अभ्यास गरी नृत्याक्षर विज्ञान पुस्तक तयार गरेको पनि स्मरण गराउनुभयो ।
नृत्याक्षर विज्ञान पुस्तक चाँडै नै अङ्ग्रेजी, अरबी र उर्दु भाषामा समेत प्रकाशन हुन लागेको उहाँले जानकारी दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुश्मा महराले २०१० सालमा भैरव नृत्य दल निर्माण गरी नेपाली कला संस्कृतिलाई विश्वसामु चिनाएका भैरवबहादुर थापा नृत्यको मात्र नभएर समग्र संस्कृतिकै धरोहर भएको विचार व्यक्त गर्नुभयो ।
नृत्यविभाग प्रमुख बखतबहादुर हमालले नृत्याक्षर विज्ञानमार्फत भैरबहादुर थापाले नृत्यलाई ‘अल्फा साइन्स’को रुपमा नयाँ पहिचान दिएको दाबी गर्नुभयो । उहाँले नृत्याक्षर विज्ञानमा आधारित भएर पहिलोपल्ट गर्न लागिएको कार्यशाला सार्थक र परिणाममुखी हुने समेत अपेक्षा गर्नुभयो ।
स्वागत मन्तव्य राख्नु हुँदै प्राज्ञ कर्णबहादुर गौतमले यो कार्यशाला नयाँ अध्यायको शुरुवात भएको बताउनुभयो ।
प्राज्ञसभा सदस्य महेश्वर गोदारले मनोरञ्जनसँग मात्र जोडिँदै आएको नृत्य विधालाई विज्ञानसँग जोड्ने पहिलो गुरु ‘भैरव गुरु’ भन्दै नमन प्रकट गर्नुभयो । उहाँले भैरवबहादुर थापा नृत्यकलाको गुरुत्व भएको गुरु भएको र उहाँको अन्तर्चेतनाबाट नृत्याक्षर विज्ञानको जन्म भएको विचार राख्नुभयो भने नृत्य प्रशिक्षक केपी पौडेलले नृत्यलाई विज्ञानको रुपमा भैरवबहादुर थापाले प्रस्तुत गर्नु गौरवको विषय भएको बताउनुभयो ।
नृत्य निर्देशक सङ्घका अध्यक्ष भूवनदास श्रेष्ठले लामो अनुभवबाट सृजित नृत्याक्षर विज्ञानमा आधारित भएर कार्यशाला सञ्चालन गर्नु स्वागतयोग्य भन्दै यसै पुस्तकका आधारमा भैरवबहादुर थापा थुप्रै राष्ट्रिय सम्मानले पुरस्कृत भएको पनि चर्चा गर्नुभयो ।
सात दिनसम्म चलेको कार्यशालाको समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वरिष्ठ नृत्य गुरु भैरवबहादुर थापालाई प्रज्ञा–प्रतिष्ठानको तर्फबाट सम्मान समेत गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि शर्माले विश्वका ठूला परिवर्तन र आविष्कार ज्यादै सामान्य र सरल रुपमा शुरु हुने भन्दै भैरवबहादुर थापाद्वारा प्रतिपादित नृत्याक्षर विज्ञान सिङ्गो मानवजातिकै संश्लेषित पुँजी भएको धारणा राख्नु भयो । सात दसकभन्दा बढी नृत्य क्षेत्रमा साधना गरेर नृत्याक्षर विज्ञानको रुपमा थापाले नृत्यलिपिको विकास गरेकोमा सिङ्गो राज्यले गौरब गर्नु पर्ने र थापाको जन्म दिन फागुन ६ गतेलाई राष्ट्रिय नृत्य दिवसका रुपमा मनाउन सरकारसँग आफूले पहल गर्ने प्रतिबद्धतथा पनि उहाँले जनाउनुभयो ।
कार्यक्रममाा समुपस्थित वरिष्ठ नृत्यगुरु भैरवबहादुर थापाले कार्यशालाई विरुवा उमार्ने अवसरका रुपमा लिँदै प्रशिक्षार्थीहरुलाई आफूले सिकेको ज्ञान अरुसम्म पु¥याउन पनि अनुरोध गर्नुभयो । नृत्य गुरु थापाले अर्को एक प्रसङ्गमा राज्यले संस्कृतिलाई हवाइजहाज उडाउने संस्था र पर्यटनसँग जोडेको भन्दै सांस्कृतिक क्षेत्रमा काम गर्ने छुट्टै मन्त्रालय हुनुपर्ने पनि बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले भैरवबहादुर थापा नेपाली नृत्य क्षेत्रका लब्धप्रतिष्ठित एवम् जिउँदो इतिहास भएको र उहाँद्वारा प्रतिपादित नृत्यलिपिमा आधारित भएर प्रज्ञा–प्रतिष्ठानले कार्यशाला चलाउने अवसर पाएकोमा उहाँप्रति आभार प्रकट गर्नुभयो । कार्यशालाका नृत्य प्रशिक्षक कृष्णप्रसाद पौडेलले नृत्याक्षर विज्ञानमा आधारित रहेर तेस्रो पटक यस्तो कार्यशाला सञ्चालन गरेको जानकारी दिनु हुँदै प्रज्ञा–प्रतिष्ठानले पनि यस कार्यलाई निरन्तरता दिएकोमा खुसी प्रकट गर्नु भयो । उहाँले प्रज्ञा–प्रतिष्ठानलाई समग्र नेपाली नृत्य शैलीलाई समेटेर कोर्स अफ स्टडी बनाई त्यस आधारमा परीक्षा लिने र प्रमाणपत्र दिने व्यवस्था गर्न पनि अनुरोध गर्नुभयो ।
नृत्य विभाग प्राज्ञ प्रमुख बखतबहादुर हमालले कार्यशाला ऐतिहासिक र परिणाममुखी भएको भन्दै सबै प्रशिक्षार्थीलाई सिकेको ज्ञान अरुमा पनि प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । प्रशिक्षार्थीको तर्फबाट बोल्दै निर्मला नेपाल र दिपेश माझीले कार्यशालाबाट नाचको पनि विज्ञान हुने नयाँ कुरा थाहा पाएको मात्र नभई धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनु भएको थियो ।
प्राज्ञसभा सदस्य शान्ति कठायतले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा, प्राज्ञपरिषद् सदस्य टीका पुन, हिसनबहादुर मगर, प्राज्ञसभा सदस्य महेश्वर गोदार, सुरत विष्ट, नेपाल नृत्य निर्देशक सङ्घका अध्यक्ष भूवनदास श्रेष्ठ लगायत नृत्य निर्देशक, कलाकार, सङ्गीतकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।