अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा सदस्य सचिव महरा
काठमाडौँ । मिति २०८१ मंसिर १८ गतेदेखि २२ सम्म आयोजित अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा (प्रगति) प्रमुख अतिथिको हैशियतमा सहभागी हुनु भयो । ब्राइट फ्युचर एसएस एन्ड कलेजको मुख्य आयोजना र स्कुल थिएटरको सहआयोजनामा काठमाडौँमा पाँच दिनसम्म चलेको उक्त महोत्सवमा १७ ओटा नाटकको २४ प्रदर्शन गरिएको थियो ।
नेपाल सहित जर्मनी, डेनमार्क, अस्ट्रेलिया ,भारत लगायत ८ देशका नाटक समूह सहभागी उक्त महोत्सवमा प्रमुखअतिथि सदस्यसचिव महराले बालबालिकालाई पठनपाठनमा मात्र सीमित नराखी उनीहरुको व्यक्तित्व विकासका लागि रङ्गमञ्चीय गतिविधिमा सरिक गराउनु अत्यन्त आवश्यक रहेको धारणा राख्नु भएको थियो । महोत्सवमार्फत् बालबालिकाले आफ्नो सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न र बालमनोविज्ञानको विकासमा टेवा पुगेको पनि उहाँले विचार व्यक्त गर्नुभयो ।
सदस्यसचिव महराले अन्तरास्ट्रिय नाट्य समुहहरुसँगको अन्तरघुलनबाट बालकलाकारहरुको प्रतिभाले परिस्कृत हुने अवसर समेत पाएको भन्दै आयोजकहरुलाई विशेष धन्यवाद दिनु हुँदै आगामी दिनमा यस्ता महोत्सव आयोजनामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान पनि सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
महोत्सव समापन समारोहमा सहभागीहरुलाई प्रमुख अतिथि महराले आयोजकको तर्फबाट प्रमाणपत्र र मायाको चिनो समेत हस्तान्तरण गर्नु भएको थियो ।