वृहत शास्त्रीय सङ्गीत उत्सव २०८१ पोखरामा सम्पन्न

२०८१ बैशाख ३० गते । पाेखरा ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय सङ्गीत विभागको आयोजना तथा ‘वृहत शास्त्रीय सङ्गीत उत्सव २०८१ पोखरामा सम्पन्न भएको छ ।

‘बसन्तको विदाईसँगै ग्रिष्म ऋतुको आगमन, शास्त्रीय सङ्गीत हुनुपर्छ हर नेपालीको धन’ भन्ने नाराका साथ गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य बहादुर विखर्चीको प्रमुख आतिथ्यतामा पोखराको विन्ध्यवासिनी धार्मीक विकास समितिको हलमा २०८१ बैशाख ३० गते ‘वृहत शास्त्रीय सङ्गीत उत्सव २०८१’ आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य बहादुर विखर्चीले पोखरा प्राकृतिक रुपले जति धनी छ, कला र संस्कृतिको दृष्टिले पनि धनी रहेको बताउनुहुँदै यस्ता किसिमका उत्सव र महोत्सवले कला क्षेत्रमा आफ्नो भविष्य देख्नेहरुलाई प्रोत्साहन प्रदान गर्ने बताउनु भयो ।

कार्यक्रममा प्राज्ञ परिषद सदस्य एवं कार्यक्रम संयोजक डक्टर राईले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले देशका विभिन्न क्षेत्रमा नाट्य सङ्गीतको विकासका लागि विविध कार्यक्रम गर्दै आएको प्रकाश पार्नुहुँदै आगामी दिनमा शास्त्रीय सङ्गीत उत्सव कार्यक्रमलाई अझ भव्य रुपले आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला लगायतले कार्यक्रमको प्रशंसा गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा काठमाडौबाट प्रतिनिधित्व गर्नुभएका वरिष्ठ कलाकारहरु संगीता राना प्रधान, वैंकटेश ढकाल, माया थापा, दुर्गाप्रसाद खतिवडा, तीर्थराज पोखरेल तथा स्थानीय कलाकारहरुले शास्त्रीय सङ्गीतको प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा नेपाल शास्त्रीय सङ्गीत समाज गण्डकी प्रदेश पोखरा सह–आयोजक र विन्ध्यवासिनी धार्मीक विकास समिति पोखरा व्यवस्थापकको भूमिकामा रहेको थियो । कार्यक्रममा पाेखरा प्रज्ञा प्रतिष्ठानका कुलपित, उपकुलपति, पोखरामा रहेर कला र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्वहरु, सहयाेगी संस्थाका पदाधिकारी , स्थानीय कलाकार लगायत स्थानीय बासिन्दाहरुकाे उल्लख्य उपस्थिति रहेको थियो ।

#classicalmusic #classicalmusicians #charyadance