'जीवन, श्रम र सङ्गीत विषयक सङ्गोष्ठी-२०८१' सम्पन्न

काठमाडाैँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान, सङ्गीत विभागद्वारा मिति २० ८१ चैत्र २० गते लुम्बिनी प्रदेश दाङ जिल्ला राप्ती गाउँ पालिकामा 'जीवन, श्रम र सङ्गीत विषयक सङ्गाेष्ठी-२०८१' आयाेजना गरियाे ।

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले समुद्घाटन गर्नु भएकाे सङ्गाेष्ठीमा कार्यपत्र प्रस्तुति सहित श्रम र सङ्गीतका सम्बन्धमा अन्तर्क्रिया समेत भएकाे थियाे ।

सङ्गाेष्ठीलाई सम्बाेधन गर्नु हुँदै लुम्बिनी प्रदेश सभा सभामुख घर्तीले श्रम संस्कृति हराउँदै गएर दलाली र चाकरी चिन्तन बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयाे ।

‘'दलाली र चाकरी चिन्तनको विकास अति भयो । लोभले विज्ञान पनि फेल हुने र सत्य पनि हार्ने अवस्था आयाे ।'’ उहाँले प्रज्ञा-प्रतिष्ठानले सङ्गीत र श्रम जस्ताे गम्भीर विषयमा सङ्गाेष्ठी गरेरे महत्त्वपूर्ण सन्देश दिन पनि सफल भएको बताउनुभयो ।

सङ्गाेष्ठीमा डा. बालाकृष्ण अधिकारीले विचारपत्र प्रस्तुत गर्नुभएको थियो भने विचारपत्रमाथि नेपाल संस्कृत विश्व विद्यालयका उपप्राध्यापक डा. टीकाराम उदासी, सङ्गीतकार गायक नारायण योगी र संस्कृतिकर्मी छविलाल कोपिलाले टिप्पणी गर्नु भएको थियो ।

सङ्गाेष्ठीका अधिकांश वक्ताले श्रमिक वर्ग र जनतासँग जाेडिएका गीतसङ्गीत सृजनामा लाग्नुपर्ने बताउनुभयाे । विचार वर्गीय हुने तर सङ्गीतको ध्वनि वर्गीय नहुने भएकाले त्यसको बेग्लै महत्त्व रहने उहाँहरुको भनाइ थियो । भूगोल, प्रकृति, वातावरण र समुदाय अनुसार श्रमका स्वरुप भिन्न भिन्नै हुने भएकाले त्यसै अनुसार कार्यक्रम बनाउन प्रज्ञा-प्रतिष्ठानलाई सुझाव दिनु भएकाे थियाे । सङ्गाेष्ठीमा राजेश क्षेत्री, लेखराज रेग्मी, विश्वराज आचार्य, प्रमोद धिताल, नीमबहादुर थापा, सुरेशकुमार पाण्डे, माधव चौधरी, अर्जुन कुमार पौडेल ‘अर्जुन सर’, कृष्ण गिरी ‘खकन’ले पनि प्रस्तुत विषयपत्रलाई सुझाव दिनु भएको थियो ।

 

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरी, साहित्यकारहरु क्षितिज मगर, सम्झना सी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य सङ्गीत विभाग प्रमुख प्राज्ञ कर्णबहादुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रगतिशील लेखक सङ्घ दाङका सचिव पुरन शर्माले र सञ्चालन प्रज्ञा-प्रतिष्ठानका कर्मचारी जगदीश सापकोटाले गर्नु भएको थियो ।