कथक नृत्य कार्यशाला सम्पन्न
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, भारतीय राजदुतावा र स्वामी विवेकानन्द कल्चर सेन्टरको आयोजनामा मिति २०८१ मङ्सिर २४ गते सोमबार एक दिने कथक नृत्य कार्यशाला सम्पन्न भयो । कार्यशाला काठमाडौँ जमलस्थित सांस्कृतिक संस्थानको मिनी हलमा आयोजित उक्त कार्यशालालाई छिमेकी राष्ट्र भारतकी प्रसिद्ध नृत्यकार एवम् कोरियोग्राफर शिखा शर्माले सहजीकरण गर्नु भएको थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले प्रसिद्ध कथक नृत्यकार एवम् कोरियोग्राफर शिखा शर्माको नृत्य टोली नेपालमा भ्रमणरत भएको अवसरलाई सदुपयोग गर्ने उद्देश्यका साथ कार्यशाला आयोजना गरिएको जानकारी दिनुभयो । कुलपति शर्माले सांस्कृतिक हिसाबले ज्यादै सन्निकट राष्ट्र नेपाल–भारतबिच आपसी ज्ञानकला आदानप्रदान गर्न र कथक नृत्य सिक्न इच्छुक कलाकारलाई फाइदा पुगोस् भनी कार्यशाला आयोजना गरिएको स्पष्ट पार्नुभयो ।
कार्यशालामा काठमाडौँका विभिन्न विद्यालय र नृत्य सङ्घसंस्था डेढ दर्जन बढी प्रशिक्षार्थी सहभागी हुनु भएको थियो ।
प्रशिक्षक शिखा शर्माले उत्तर भारतमा हजार वर्षभन्दा अघि विकसित भएको प्राचीन नाच शैली कथक नृत्य मन्दिर, दरबार र घर हुँदै अहिले स्टेजसम्म आइपुग्नुका चार समयावधिलाई व्याख्या सङ्क्षेपमा व्याख्या गर्नु भएको थियो । शुरुमा मन्दिरमा, त्यसपछि मनोरञ्जनका लागि दरबारमा पुगेको कथक नृत्य भारतमा अङ्ग्रेज शासनको उपनिवेश कालमा प्रतिवन्ध गरिए पनि घर–घरमा अभ्यास गरिएको र भारत स्वतन्त्रतापछि भने विस्तार हुँदै स्टेजसम्म आइपुगेको उहाँले चर्चा गर्नु भएको थियो ।
नृत्यमग्न शारीरिक हाउभाउ र भावभङ्गिमाको माध्यमले कथा व्यक्त हुने भएकाले यस नृत्य शैलीलाई कथक भनिएको परिभाषा पनि उहाँले स्मरण गराउनुभयो ।
एक घण्टा सञ्चालन गर्ने भनिएको कार्यशाला सहभागीको अनुरोधमा सहजकर्ता शर्मा र उहाँको टोलीले झण्डै तीन घण्टासम्म निरन्तर चलाउनु भएको थियो । सो क्रममा कथक नृत्यका आधारभूत शैलीलाई प्रयोगात्मक रुपमा सिकाउँदै प्रशिक्षक शर्माको टोली र प्रशिक्षार्थीहरुले सामूहिक प्रस्तुति समेत गर्नु भएको थियो ।
कार्यशालामा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राई, सङ्गीत विभाग प्रमुख प्राज्ञ कर्ण बहादुर गौतम, प्राज्ञसभा सदस्यद्वय देवकुमार चौधरी, शान्ति कठायत, नृत्य निर्देशक महासङ्घका अध्यक्ष भूवनदास श्रेष्ठ, नृत्य विशेषज्ञ केपी पौडेल, अनुसन्धाता निल कमल र स्वामी विवेकानन्द कल्चरल सेन्टरका बासिनको पनि उपस्थिति रहेको थियो ।