मधेस प्रदेशमा आयोजित प्राज्ञिक अन्तर्क्रियामा सदस्यसचिव
काठमाडौँ । मैथली विकास कोषद्वारा मधेस प्रदेशको राजधानी जनकुपुरमा आयोजित 'नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल प्रज्ञा– प्रतिष्ठानको भूमिका' विषयक अन्तर्क्रिया कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा सहभागी हुनुभयो । मिति २०८१ मङ्सिर ३० गते मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित उक्त अन्तर्क्रिया सभ्यर भव्यपूर्वक सम्पन्न भएको थियो । सदस्यसचिव महरासँगै नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देबेन्द्र थुम्केलीले प्रदेश र स्थानीय तहसम्मका प्रज्ञा–प्रतिष्ठानका महत्त्व ,सहकार्य एवं भूमिकाका बारेमा महत्त्वपूर्ण विचारहरु व्यक्त गर्नु भएको थियो ।
राजर्सी जनक जनकपुर विश्व विद्यालयका उपकुलपति प्रा. डा. अमर प्रसाद यादवको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सदस्य सचिव महराले मैथिली कला, संस्कृतिको पावन भूमि मधेस प्रदेशमा यस्तो प्राज्ञिक अन्तर्क्रिया हुनले खास महत्त्व राख्ने बताउनुभयो । मधेस प्रदेश विविध भाषा, कला, संस्कृति र साहित्यले धनी भएकाले त्यसको समुचित संरक्षण, संबर्द्धन र विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय गरी तिनै तहका प्रज्ञा–प्रतिष्ठानले ठोस मार्गचित्र बनाउन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले यस अघिबाटै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले मधेस प्रदेशकेन्द्रित सङ्गीत, नाट्य र नृत्य विधामा खोज, अध्ययन, अनुसन्धान कार्य गर्दै आएको स्मरण गराउनु हुँदै आगामी दिनमा त्यसलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसका लागि मैथिली विकास कोष, मधेस प्रज्ञा–प्रतिष्ठान लगायत अन्य स्थानीय स्तरका प्रज्ञा–प्रतिष्ठान र सङ्घसंस्थासँग सहकार्य गर्ने पनि बताउनुभयो ।
अन्तर्क्रियामा मधेस नीति आयोगका पूर्व अध्यक्ष भोगेन्द्र झा, मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी, प्राज्ञ रमेश र१जन झा, जनकपुर उप महानगर पालिकाका मेयर मनोज शाह, चलचित्रकर्मी कुमार भाष्कर लगायत विभिन्न विधाका विशिष्ट व्यक्तिले महत्त्वपूर्ण विचारहरु व्यक्त गर्नु भएको थियो । कार्यक्रम मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।