नेपाल–भारत रंग महोत्सव सम्पन्न

नेपाल र भातका ६ वटा उत्कृष्ट नाटक मञ्चन


काठमाडौ  । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान र राष्ट्रिय नाट्य विद्यालय नयाँ दिल्ली भारतको सहकार्यमा ६ दिने नेपाल—भारत रंग महोत्सव मिति २०८१ माघ २३ गतेदेखि माघ ३० गतेसम्म राष्ट्रिय नाचघर जमल, काठमाडौँमा आयोजना गरियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले समुद्घाटन गर्नु भएको महोत्सव छ दिनसम्म चलेको थियो । महोत्सवमा नेपाल र भारतका तीन–तीन वटा उत्कृष्ट नाटक मञ्चन गरिएका थिए ।
महोत्सवलाई शुभकामना दिनु हुँदै मन्त्री पाण्डेले नेपाल र भारतबिच राजनीतिक र कूटनीतिक भन्दा उपल्लो तहमा सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्नु हुँदै यस प्रकारका महोत्सवले उक्त समबन्धलाई झन् घनिभूत बनाउने बताउनुभयो । मन्त्री पाण्डेले अर्को एक प्रसंगमा जलवायु परिवर्तनले मानवसभ्यता मात्र नभएर सिंगो पृथ्वीको आयुमै प्रश्न उठिरहेकोले अब रंगमञ्च र कलाकर्मीले त्यसतर्फ सचेतना फैलाउनु पर्नेमा जोड दिनुभयो । 

 
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले हजारौं वर्षदेखि नेपाल९भारतबीच कायम रहेको सांस्कृतिक सम्बन्धलाई महोत्सवले झनै जीवन्त तुल्याएको विचार व्यक्त गर्नुभयो । सभ्यता, भाषा, धर्म, परम्परा तथा कलासंस्कृतिमा दुई देशबिच सक्दो मात्रामा समानता रहेको चर्चा गर्नु हुँदै यस महोत्सवले दुवै देशका दर्शक तथा कलाकारहरूलाई नाट्यकला, अभिनयशैली, कथानक संरचना तथा रंगमञ्च प्रविधिको नयाँ दृष्टिकोण सिक्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । 
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहिलो पटक आयोजना भएको नेपाल भारत रंग महोत्सवले दुई देशको सम्बन्धलाई गहिरो र प्रगाढ बनाएको आफूलाई महसुस भएको भन्दै हरेक वर्ष महोत्सवलाई निरन्तरता दिनुपर्ने राय राख्नुभयो । त्यसै गरी  राष्ट्रिय नाट्य विद्यालय  नयाँ दिल्ली भारतका सेक्रेटरी प्रदीप कुमार महन्थीले  सन् १९९९ देखि भारतव्यापी रुपमा आयोजना हुँदै आएको भारत रंग महोत्सवको २६ औँ संस्करणको अवसरमा यस वर्षदेखि नेपाल र श्रीलंकामा समेत महोत्सवलाई विस्तार गरेर अन्तर्राष्टियकरण गरिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा भारतीय पर्यटन मन्त्रालयका निमित्त सचिव रंजना चोपराले रंगमञ्च मनोरञ्जनको लागि मात्र नभएर आध्यात्मिक, वैचारिक एवम् दार्शनिक अभिव्यक्तिको माध्यम समेत भएकाले यस्ता महोत्सवबाट दुई देश बिचका संस्कृति, बुझाइ, कला र मनोविज्ञानको परस्पर आदानप्रदान हुने दाबी गर्नुभयो । रंगमञ्च सशक्त हुँदा समाज पनि सशक्त हुने विचार राख्नु हुँदै महन्थीले यस महोत्सवका अवसरमा भारतमा मात्र अढाइ हजारभन्दा बढी रंगकर्मीको सम्मिलन हुँदै आएको दाबी गर्नुभयो ।

 


नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भू राईले आमन्त्रित अतिथिहरुलाई स्वागत गर्नु हुँदै भारतको प्रतिष्ठित राष्ट्रिय नाट्य विद्यालयसँग सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले महोत्सवलाई केवल प्रस्तुतीकरणको मञ्च मात्र नभएर दुई देशबिचको सांस्कृतिक भावनाको उत्सवको रुपमा सम्पन्न गर्नुपर्ने बताउनुभयो । 
महोत्सवको पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’को मञ्चन समेत गरिएको थियो । भारतीय संस्कृति मन्त्रालय, सङ्गीत नाट्य अकादेमी र  राष्ट्रिय नाट्य विद्यालय, नयाँ दिल्लीका जिम्मेवार पदाधिकारी र प्रतिष्ठित कलाकारहरु को महोत्सवमा सहभागिता रहेको थियो । 


त्यसै गरी माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जून ः परीकथा मात्र होइन’ र माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ मञ्चन हुनेछ। माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ मञ्चन भएका थिए ।  

 महोत्सवको दोस्रो दिन मञ्चन  भएको नेपाली नाटक 'कथा कस्तुरी' चर्चित आख्यानकार नयन राज पाण्डेको कथा 'सर्पदंश'मा आधारित थियो । यस कथालाई 'कथाकस्तुरी' शिर्षकमा नाट्य रुपान्तरण गरी प्रख्यात रंगकर्मी एवम् सिनेकर्मी दिया मास्केले निर्देशन गर्नु भएको हो । नेपालको पश्चिम तराई क्षेत्रमा यदाकदा भेटिने सपेरा जातिको जनजीवनमा आधारित यस नाटकले एकातिर सपेरा जनजीवनका माधुर्य र जटिलतालाई उजागर गर्छ भने अर्कातिर न्यून संख्यामा रहेका समग्र प्रजातिहरुमाथि राज्यले गर्ने फोहोरी राजनीतिको पनि पर्दा पल्टाउँछ । प्रस्तुत नाटकले कार्यक्रमका प्रमुख अथिति वरिष्ठ रंगकर्मी हरिहर शर्मा, विशष अतिथि हुनुहुन्थ्यो । राष्ट्रिय नाट्य विद्यालय, नयाँ दिल्ली भारतका महोेत्सव संयोजक दौलत भोइट, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुपति शुम्भू राई, सदस्यसचिव कुश्मा महरा, प्राज्ञपरिषद् सदस्यहरु, प्रतिष्ठित रंगकर्मी अनुप बराल, वीरेन्द्र हमाल एवम् राष्ट्यि नाचघरमा खचाखच उपस्थित दर्शकहरुलाई  यस नाटकले मन्त्रमुग्ध एवम् सोचमग्न बनायो ।

आफ्नो कुत्सित मनसाय पूरा गर्नका लागि नाटकका खलनायक चिन्तामाणिले आफ्नो रक्षार्थ जब सर्पयज्ञको आयोजना गर्छ तब ऊद्वारा शोषित उत्पीडित समुदाय नै त्यस यज्ञमा उसको प्रतिरोधमा उत्रिएको दृश्यले राष्टिय नाचघरको प्रेक्षालयमा उपस्थित दर्शकबाट करतल तालीका पर्रा गुञ्जायमान भएको दृश्यले समकालीन नेपाली राजनीतिक-सामाजिक चित्रलाई समेत उजिल्याएको एक दर्शकले बताए ।

महोत्सवको तेस्रो प्रस्तुतिका रुपमा माघ २७ गते आइताबार ‘जून ः परिकथा मात्र होइन’ नेपाली नाटक मञ्चन भयो । संयोग गुरागाईंको लेखन र नम्रता के.सी.को निर्देशन रहेको यस नाटकमा विश्वप्रशिद्ध बाललोककथा सिन्द्रेलालाई पुनर्कथन गर्ने प्रयास गरिएको थियो । नाटकमा सानैमा आमा गुमाएकी जूनले बुुबा, सौतेनी आमा र दुई दिदीबहिनीको फरक–फरक व्यक्तिगत चाहना र आकांक्षाका कारण परिवारमा आएका असहजता र प्राकृतिक विपत्तीजस्ता चुनौतीहरुका बिच आफ्नो बुद्धिमता र सीपले रोजाइको जीवन बाँच्न गरेको सङ्घर्षलाई देखाइएको थियो । नाट्यलेखक गुरागाईंले यस नाटकले हामीले परीकथाका रुपमा सुनेका कथाहरुलाई समीक्षा गर्ने र मानवीय दृष्टिकोणका ती कथाहरुको पुनर्कथन गर्ने उद्देश्य राखेको बताउनुभयो । निर्देशक नम्रता केसीका अनुसार यस नाटकमार्फत् अझ समावेशी र समानतापूर्ण संसारको नजिक लैजाने, समकालीन कथाकथनको परम्परा र महिला पात्रहरुप्रतिको हाम्रो धारणालाई सृमद्ध बनाउन सहयोग पुग्ने छ । एस्थेटिक डान्स स्टुडियो काठमाडौँको प्रस्तुति रहेको यस नाटकमा कथा कथनको माध्यमका रुपमा कथक नृत्य शैलीलाई अपनाइएको थियो । निर्देशक केसीले यस नाटकमा महिलाको भूमिकालाई लामो समयसम्म सीमित पारेर राखेका पुराना कथाहरुलाई शास्त्रीय नृत्यको मञ्चमा ल्याएर महिलाद्वेषी कथ्यहरुलाई आधुनिक घुम्ती प्रदान गर्दै परिवर्तनकारी शक्ति प्रदर्शन गर्ने प्रयास गरिएको दाबी गर्नुभयो ।

नाटक मञ्चनपछि लेखक, निर्देशक र कलाकारहरुलाई प्रज्ञा-प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई, सदस्यसचिव कुश्मा महरा र राष्ट्रिय नाट्य विद्यालय, न्यू दिल्ली भारतका महोत्सव संयोजक दौलत भोइटले सम्मान एवम् मायाको चिनो प्रदान गर्नु भएको थियो । यस नाटक मञ्चनका दिन पनि प्राज्ञपरिषद् सदस्यहरु एवम् काठमाडौँका रंगमञ्चप्रेमीहरुको उत्साहजनक सहभागिता रह्यो ।

महोत्सवको चौथो दिन भारतीय नाटक ‘माई री मैँ कासे कहूँ’ मञ्चन भयो । यो नाटक मञ्चनमा प्रमुखअतिथिका रुपमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुखअतिथिका रुपमा समुपस्थित हुनुभयो ।

भारतीय विख्यात लेखक विजयदान देथाको कथा ‘दुविधा’ मा आधारित यस नाटकको कथा गायन वाचन शैलीको प्रस्तुतिले उपस्थित दर्शकको मन जित्न सफल भयो । यस नाटकमा प्रसिद्ध भारतीय रंगकर्मी अजय कुमारले सङ्गीत एवम् निर्देशन गरेका हुन् । महिला अस्तित्व र स्वतन्त्रतालाई कठोर व्यङ्ग्य गरिएको यस नाटकमा सामाजिक विषमता र विडम्बनाका कारण महिलाको जीवन घरदैलोबाट मसानघाटसम्म मात्र सीमित रहेको देखाइएको छ । कथा वाचनमा राजस्थानी लोकसङ्गीत र नृत्यलाई भरपुर प्रयोग गरिएको यस नाटकले आफूलाई नेपालको सुदूरपश्चिम थारु गाउँमा प्रचलित लोकनाट्य परम्पराको झल्को दिएको कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण कुमार चौधरीले बताउनुभयो । मन्त्री चौधरीले यो महोत्सव नेपाल र भारतबीच रङ्गकलाका विविध आयाम बारे गहिरो महसुस गराउने एक सशक्त माध्यम भएको भन्दै आगामी दिनमा पनि निरन्तर हुनुपर्ने सुभेच्छा प्रकट गर्नुभयो । यस नाटकका निर्देशक अजय कुमारले कला र कलाकार अनि दर्शक बीचको सम्बन्धले अरु थुप्रै सम्बन्धहरु विकास हुने विचार राख्नु हुँदै नेपाली दर्शक र नाटकका कलाकारप्रति विशेष नमन व्यक्त गर्नुभयो । निर्देशक कुमारले आफ्नो मातृभाषा राजस्थानीप्रति आदरका कारण राजस्थानी भाषामा मात्रै साहित्य सृजना गरेका कथाकार विजयदान देथा ‘बिज्जी’ दिवंंगत भए पनि यस्ता सृजनाले सधैँ अमर रहेको भन्दै विशेष सम्मान प्रकट गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय नाट्य विद्यालय, नयाँ दिल्ली भारतका निर्देशक चित्तरंजन त्रिपाठी आफू २७ वर्षअघि पहिलो नाटक नेपाल आएर राष्ट्रिय नाचघरको यही मञ्चमा नाटक खेलेको भन्दै भावुक हुनुभयो । निर्देशक त्रिपाठीले त्यस समयमा मञ्चीय त्रुटीका कारण एक जना भारतीय बाल कलाकार घाइते भएको र अहिले उनी भारतीय रंगमञ्च र बलिउडमा स्थापित कलाकार रुपमा काम गरिरहेको स्मरण गर्नुभयो । रङ्गकर्मी र रङ्गमञ्चको भौतिकसँगै खास भावनात्मक सम्बन्ध पनि हुने भन्दै त्यो समय र यो समयलाई तुलना गर्दा नेपाली र भारतीय दुवै रङ्गमञ्चले प्रशस्तै फड्को मारेको दाबी गर्नुभयो ।

प्रज्ञा—प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले अध्यक्षता रहेको कार्यक्रममा प्रमुखअतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अरुणकुमार चौधरीले नाटक निर्देशक अजयकुमार, निर्देशक चित्तरंजन त्रिपाठी लगायतलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।

 

महोत्सवको पाँचौँ दिन माघ २९ गते मंगलबार भारतीय नाटक ‘बाबूजी’ मञ्चन भयो । उत्तर भारतको सबैभन्दा लोकप्रिय लोक अपेरा थिएटर नौटंकी शैलीमा मञ्चन गरिँदा नाटकले दर्शकको  अपेक्षाभन्दा बढी नै वाहीवाही पाउन सफल भयो । 
हिन्दी कथा साहित्यमा प्रसिद्ध भारतीय कथाकार मिथिलेश्वरले  लेख्नु भएको यस नाटकलाई विभांशु वैभवले नाट्य रुपान्तरण र राजेश सिंहले निर्देशन गरेका हुन् । नाटकका नायक बाबूजी नौटंकी कलाकार हुन्छ । ऊ सामाजिक र पारिवारिक जिम्मेवारीलाई बचाउँदै नौटंकी कम्पनी खोल्न घरमा अभ्यासरत हुन्छ । तर नौटंकी लोकनाट्यप्रतिको उसको रुचि र लगावकै कारण पारिवारिक जीवन लथालिंग हुन्छ । पत्नी, छो।ा र उसका आफ्ना साथी र समाज कसैले पनि उसलाई साथ दिँदैनन् केवल नौटंकी नर्तक सुरसतीले मात्र उसलाई साथ दिन्छे । त्यसैले ऊ घरबाट निकालिन्छ । तै पनि कलाप्रतिको उसको प्रेम र समर्पण कम हुँदैन । उसले नौटंकी कम्पनी खोलेर केही सफलता पनि प्राप्त गर्छ, तर अन्ततः आफ्नै नौटंकी  देखाउने क्रममा नर्तक सुरसतीको विषयमा हुने विवादमा ऊ माथि आक्रमण हुन्छ । घाइते अनि सराबीको समेत लती बाबूजी आधा बोतल मदिरा बाँकी रहँदै मृत्यू वरण गर्छन् ।
अलग अलग व्यक्ति र वर्गको सोचाई समग्र समाजले कसरी लिन्छ भन्ने सटिक प्रतिविम्बन गरेको छ नाटकले । भारतको ग्रामीण जीवन, त्यहाँका मान्छेको संघर्ष र समस्यालाई सुन्दर ढंगले उठान मात्र गरिएको छैन, एउटा कलाकारले आफ्नो जिन्दगीमा भोग्नु पर्ने अनेक संघर्ष र द्वन्द्वलाई सशक्त्त रुपमा उठाइएको छ ।
प्रस्तुत नाटकलाई पहिलो पटक श्रीराम सेन्टर र रंगमंगलसँग मञ्चन गरेका रंग विभिूति स्व. ब.व. कारंतलाई समपंण गरिएको थियो । निर्देशक राजेश सिंहले कारंतले नै नाटकको आत्म र परिवेशलाई प्रभावशैली बनाउन हराउन लागेको लोक तथा नाट्य शैलीलाई प्रयोग गरेको बताउनुभयो । त्यसैले नाटकमा कारंतले स्वरबद्ध तथा संयोजन गरेका लोकगीतहरुलाई जस्ताको तस्तै राखिएको र नाटकको ग्राफ र घनत्व हेरेर छुट्टै दुई वटा लोकगीत पनि राखेको उहाँले बताउनुभयो ।
बलिउडको आगमनभन्दा पहिले उत्तर भारका गाउँ शहरमा मनोरञ्जनको सबैभन्दा ठूलो माध्यम नौटंकी रहेको र यसको समृद्ध संगीत रचना तथा हसाउने र मनोरञ्जनपूर्ण कथाहरुले कल्पनामा ठूलो प्रभाव पार्ने भएकाले दर्शकले मन पराएको उहाँको धारणा थियो ।
कार्यक्रममा वरिष्ठ रंगकर्मी सुनिल पोखरेल प्रमुख अतिथि र वरिष्ठ रंगकर्मी रमेहरञ्जन झा विशेष अतिथिको रुपम ाउपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख अतिथि पोखरलेल निर्देशक सिंहलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानको तर्फबाट सम्मान एवम् मायाको चिनो प्रदान गर्नु भएको थियो ।

महोत्सव माघ ३० गते बुधबार भारतीय नाटक 'ताजमहल का टेन्डर'को मञ्चनसँग समापन भयो  । नाटकले नेपाल सांस्कृतिक संस्थान सभाभवनमा भरिभराउ रहेका दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्यो ।

समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  बद्री प्रसाद पाण्डेले प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभयो ।  समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयतका सचिव विनोद प्रकाश सिंह,, नेपालका लागि भारतीय राजदूतावासका उपप्रमुख  प्रसन्न श्रीवास्तव,  विशेष अतिथि र अतिथिका रुपमा नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमनि हार्ताम्छाली, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राई, वरिष्ठ रंगकर्मी सुनिल पोखरेल, रमेशरञ्चन झा, अविनास श्रेष्ठ, सदस्य सचिव कुश्मा महरा, प्राज्ञपरिषद् सदस्यहरु डक्टर किरात, कर्ण बहादुर गौतम, हिसनबहादुर मगर,  टिका पुन, प्राज्ञसभा सदस्यहरु महेश गोदार, कला राई, पुरु लम्साल, देवकुमारी चौधरी लगायत उच्चपदस्थ अधिकारी र वरिष्ठ रंगकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) का निर्देशक चितरंजन त्रिपाठीलाई सम्मान गर्नु हुँदै राष्ट्रिय नाट्य विद्यालय र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान बीचको सहकार्यको कदर गर्नुभयो। वहाँले महोत्सव दुई देशीय कला आदानप्रदान र सांस्कृतिक सम्बन्धलाई गहिरो र प्रगाढ बनाउन सफल भएको भन्दै आयोजक प्रज्ञा-प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गर्नुभयो ।कार्यक्रममा मन्त्री पाण्डेलाई प्रज्ञा-प्रतिष्ठानको तर्फबाट कुलपति निशा शर्मा पोखरेलबाट मायाको चिनो पनि प्रदान गरियो ।

फेरि भेट्ने बाचा र आशा सहित समापन भएको महोत्सवल दर्शकको मनमा गहिरो प्रभाव छाड्न सफल भयो । नेपाल र भारतका तीन-तीन गरी छ वटा उत्कृष्ट नाटक मञ्चन भए । समापनका दिन मञ्चन भएको नाटक 'ताजमहल का टेण्डर' विश्वमै सबैभन्दा बढी मञ्चन भएका नाटकमध्ये एक हो । राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) का निर्देशक चितरंजन त्रिपाठीद्वारा निर्देशित र अजय शुक्लाको पटकथामा आधारित यो नाटक व्यङ्ग्यले भरिपूर्ण छ । यसले सबैैभन्दा उन्नत भनी अभ्यास गरिएको लोकतन्त्रलाई तिखो व्यङ्ग्य गरेको छ । कर्मचारीतन्त्र, कमिशनखोर, भ्रष्टाचार, कामचोरी, परिवारवाद र जनताको आवश्यकताप्रतिको संवेदनाहिन प्रवृत्तिको जालो कसरी एकअर्कामा जेलिएका छन् भन्ने यथार्थलाई सङ्गीत, नृत्य र हास्यव्यङ्ग्यमार्फत् कथावााचन गरिएको छ ।

कथाअनुसार बादशाह शाहजहाँ सि.पि. डब्लू.डी. (भारतको सरकारी निर्माण विभाग) को मुख्य इन्जिनियर गुप्ताजीलाई बोलाउँछन् र आफ्नी स्वर्गीय रानी मुमताजको सम्झनामा एउटा स्मारक बनाउने आफ्नो सपनाबारे सुनाउँछन् । धेरै सोच विचार गरेपछि उनी यस्तो निर्णय गर्छन्– मुमताजको सम्झनामा एउटा ‘मकबरा’ (चिहान घर) बनाउने र त्यसको नाम ‘ताजमहल’ राख्ने ।

अत्यन्तै चलाख र भ्रष्ट गुप्ताजीले शाहजहाँलाई यस्तो जालो बुन्छ र सरकारी तन्त्रमा घुमाउँछ, जसले अनेक हास्य–व्यङ्ग्यकाृ परिस्थितिहरु निर्माण गर्दछ । ताजमहल बनाउने शाहजहाँको निवेदनमा सरकारी अनुमोदन गर्न नै २५ वर्ष लाग्छ । त्यसपछि बल्ल ताजमहल निर्माण गर्न टेण्डर निकालिन्छ ।

बेजोड अभियनका साथ प्रस्तुत यस भरतीय नाटकलाई नेपाली दर्शकले आफ्नै देशको लोकतन्त्र, कर्मचारीतन्त्र र भ्रष्टाचारयुक्त विकासे भाष्यसँग जोडेर हेरे अनि बिचबिचमा करतल तालीका ध्वनिले अनुमोदन गरिरहे ।

महोत्सवमा मञ्चन गरिएका नाटकले दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो । 

फेरि भेट्ने बाचा र आशा सहित समापन भएको महोत्सवल दर्शकको मनमा गहिरो प्रभाव छाड्न सफल भयो । 
प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले हजारौं वर्षदेखि नेपाल(भारतबीच कायम रहेको सांस्कृतिक सम्बन्धलाई महोत्सवले झनै जीवन्त तुल्याएकोले आगामी वर्षमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  महोत्सवको प्रायोजकको रुपमा नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका, नेपाल टेलिकम, ग्लोबल आइएमइ बैँक, नेपाल भारत बिपी कोइराला फाउण्डेसन र वाइवाइ चाउचाउ रहेको थिए ।