‘नृत्य तथा नाट्य अध्ययन’ पुस्तक सार्वजनिक
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानको नृत्य विभागबाट विकास घले गुरुङले लेख्नु भएको ‘नृत्य तथा नाट्य अध्ययन’ पुस्तक प्रकाशित गरिएको छ । शुक्रबार काठमाडौँस्थित नक्सालमा आयोजित एक कार्यक्रमका बिच उक्त पुस्तकलाई सार्वजनिक गरियो ।
सार्वजनिक समारोहमा नेपाल प्रज्ञा—प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छाली, वरिष्ठ नृत्यविज्ञ भैरवबहादुर थापा, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका उपकुलपति शम्भु राई, प्राज्ञ बखतबहादुर हमाल, नृत्य अनुसन्धाता भावना कार्कीले पुस्तक सार्वजनिक गर्नु हुँदै चर्चा/परिचर्चा समेत गर्नुभयो ।
पुस्तकका लेखक गुरुङले नृत्य विषयमा स्नातकतोत्तरको परीक्षा सम्बन्धित निकायले प्रश्नपत्र समेत तयार गरेर उपलब्ध गराउन नसक्दा खाली उत्तर पुस्तिका बुझाउनु परेको तीतो अनुभवले आफूलाई नृत्य विधामा पुस्तक लेख्न प्रेरित गरेको बताउनुभयो ।
नेपाल प्रज्ञा—प्रतिष्ठानका कुलपति भूपाल राईले नृत्य विधालाई प्राज्ञिक र शैक्षिक प्रणालीसँग जोडेर लैजान ‘नृत्य तथा नाट्य अध्ययन’ पुस्तकले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कुलपति राईले मानवजगत्ले उपार्जन गरेको सबैभन्दा पुरानो संज्ञानात्मक विधा नृत्य भएको चर्चा गर्नु हुँदै नेपाली नृत्यशास्त्रलाई मानवशास्त्रीय दृष्टिकोणले व्याख्या, पुनर्व्याख्यामार्फत् रैथानेकरण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
नेपाल ललितकला प्रज्ञा—प्रतिष्ठानका कुलपति नारदमनि हार्तम्छालीले लेखकले नृत्यलाई ललतिकला विधासँग समेत जोडेर लेखेको भन्दै प्रशंसा गर्नुभयो । नृत्य अभिव्यक्तिको कलात्मक भाषा हो भन्नु हुँदै उहाँले नेपालको भूगोल, संस्कृति, ज्ञान र परम्परामा आधरित भई सैद्धान्तिककरण गरे मात्र नेपाली नृत्य शास्त्रले पूर्णता पाउने धारणा राख्नुभयो ।
वरिष्ठ नृत्यविज्ञ भैरवबहादुर थापाले ‘पुर्ख्यौली व्याकरण’लाई मात्र पछ्याएर किताब लेख्ने परम्पराबाट मुक्त हुन आवश्यक रहेको भन्दै लेखक गुरुङले ‘बिटुजी’ नृत्य विधि अघि सारेर आफ्नो ‘इथिक्स्’ सहित पुस्तक लेखेको भन्दै खुसी व्यक्त गर्नुभयो । कुनै पनि व्यक्तिले अनुभव र अध्ययनका आधारमा इथिक्स् तयार गर्नु नै ठूलो कुरा भएकाले त्यसलाई अरुले पछ्याउलान् नपछ्उलान् भनेर चिन्ता लिन आवश्यक नरहेको पनि बताउनुभयो ।
नृृत्य अध्येता एवम् अनुसन्धाता भावाना कार्कीले विश्वविद्यालय तहमा रहेको नृत्यसम्बन्धी पाठ्यपुस्तक र सन्दर्भ सामग्रीको अभावलाई गुरुङकृत पुस्तकले थोरै भए पनि पूर्ति गर्ने भन्दै नयाँ नृत्य निर्देशकहरुलाई नृत्यको आधारभूत र सैद्धान्तिक ज्ञान पनि दिने बताउनुभयो ।
प्रज्ञा—प्रतिष्ठानका नृत्य विभाग प्रमुख बखतबहादुर हमालले नृत्य विधा समग्र संस्कृति अभिव्यक्त हुने ‘सम्पूर्ण’ माध्यम भएको दाबी गर्नु हुँदै नेपाली नृत्य क्षेत्रमा प्रस्तुत पुस्तकले नयाँ इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका उपकुलपति शम्भू राईको अध्यक्षता र कर्मचारी जगदिश सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा नृत्य क्षेत्रका अनुसन्धाता, लेखक, कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।