‘पापिनी विवाह’ लोकनाट्यको स्थलगत अध्ययन, अनुसन्धान एवम् छायाङ्कन
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाट्य विभागबाट आ.व. २०८०÷८१ को स्वीकृत कार्ययोजना ‘नेपाली नाट्य सिद्धान्त ः अनुसन्धान लेखन’ अन्तर्गत कर्णाली प्रदेश, रुकुम पश्चिम मुसीकोट नगर पालिका वडा नंं. ७ शाख गाउँमा हरेक वर्ष माघ १ गतेबदेखि १६ गतेसम्म हुने ‘पापिनी विवाह’ लोकनाट्यको छायाङ्कन, अन्तर्वार्ता र स्थलगत अध्ययन अनुसन्धान पूरा भएको छ । नाट्यविभाग प्रमुख प्राज्ञ हिसनबहादुर मगरका अनुसार माघ १३ गतेदेखि २०८१ माघ १८ गतेसम्म ‘पापिनी विवाह’ लोकनाट्यको अध्ययन। अवलोकन र छायाङ्कन कार्य भएको हो ।
अनुसन्धान एवम् स्थलगत अवलोकनमा प्राज्ञ मगरसँगै नाट्यविज्ञ डा. भक्त राई, पर्शुराम राई (प्रविण पुमा) र सस्मील पुन सहभागी हुनु भएको थियो । प्राज्ञ मगरका अनुसार माघ १४ गते अध्ययन अनुसन्धान टोली साख गाउँ पुगेर ‘पापिनी विवाह’ संस्कृतिबारे गाउँका पाका मानिसहरुको कथन सङ्कलन, भिडियो क्लिप्स निर्माण र महङ्खवपूर्ण अन्तरवार्ता रेकर्ड गर्ने कार्य भयो । त्यसै गरी सोही दिन साँझ ७ बजेदेखि राति १० ः ३० बजेसम्म विवाह तयारीको लागि बेहुलीको घरमा रीत बुझाउने कार्यक्रमको अवलोकन गरियो भने माघ १५ गते मुसीकोट नगर पालिका वडा नं. ७ का वडा अध्यक्षको आयोजनामा वडा कार्यलयमै विवाहका आयोजक, मेला आयोजक, हाम्रो सरकार क्लब, अन्य भद्र भलाद्मी र हाम्रो टोली बीच ११ बजेदेखि २ बजेसम्म पापिनी विवाह र मेलाको बारे विस्तृत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । त्यसै दिन ४ बजेदेखि राति १२ बजेसम्म भिएको ववाह कार्यक्रमको छायाङ्कन गरिएको थियो ।
के हो ‘पापिनी विवाह’ ?
स्थानीयहरु कथनीमा सुरुमा यस ठाउँलाई पत्ता लाएर जुम्लातिरबाट पुन मगर परिवार बसोवास गर्छ । जसलाई पजंगी नामले चिनिदो रहेछ । उनीहरु अति नै सुन्दर र मानव बसोवास गर्न योग्य यस ठाउँमा अरु मगरहरुलाई पनि ल्याएर राख्छन् । बस्तीको रेखदेख र नेतृत्व भने पजंगी पुन मगरकै हातमा हुन्छ । महाजनी प्रथाबाट गाउँको थिति चल्छ । कालान्तरमा पुन परिवार अल्पसङ्ख्यामा पर्छ । त्यसो हुनुमा महाजनी चलाउँदा धेरैको सराप लागेको विश्वास गरी पुन बाहेककालाई महाजनी दिन मानिसको खोजी हुन थाल्छ । तर गाउँमा योग्य मानिस नै भेटिँदैन । त्यसपछि रोल्पाको बाराङ गाउँबाट एक पुन परिवारलाई डोलीमा राखेर ल्याई गाउँको तल्लो भागमा बसोवास गराइन्छ । अब साख गाउँ दुई भागमा विभाजित हुन्छ– तल्लो गाउँ र माथिल्लो गाउँ ।
गाउँको महाजनी बारङ्गी पुन मगरले गर्न थालेको केही पुस्तापछि गाउँमा ठुलो महामारी फैलिएछ । बारङ्गी पुन मगरको दिनदिनै सुँगुर हराउने गरेपछि सुँगुर खोज्ने क्रममा गाउँको बीचमा एउटा पोखरी पत्ता लाग्छ । महाजनी बारङ्गी पुन मगरले सपनामा त्यो पोखरीमा एक ठुलो राक्षस बसेको देख्छन् । अब त्यस राक्षसलाई लखेट्न रातभर बाजागाजा बजाएर होहल्ला गर्ने सरसल्लाह हुन्छ । यसको लागि कन्या–कन्या बीचको विवाहको नाटक रची मगर रीतिअनुसार १५ दिनसम्म रमाइलो गर्ने सबैको सल्लाह हुन्छ । तर त्यसको लागि खर्च बटुवालाई सिस्नोले हानेर डार्ने (डाट्ने) र जे छ त्यही लिने नियम बनाइन्छ । सुरुसुरुमा यस विवाहलाई डार्ने विवाहको नामबाट चिनिदो रहेछ । पछि आएर एक बटुवालाई बाटो छेकेर माग्न खोज्दा बटुवा भागेछन् । गाउँका महिलाहरुले लखेटेर तिन किलोमिटर परबाट समातेर गाउँमा ल्याएछन् र शरिर छाम्दा केही नभेटेर पुठ्ठो (सुर्तीको पोको) मात्र भेटेछन् । तब बटुुवाले ती महिलाहरुलाई सुर्तीसम्म नछाड्ने पापिनी भनेपछि ‘पापिनी विवाह’ नामकरण हुन गई वर्षेनी यो प्रचलनले निरन्तरता पाएको हो ।