प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन विभागीय मन्त्रीसमक्ष पेश
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष मिति २०८१ कात्तिक २७ गते पेश गरियो । प्रज्ञा–प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराका अनुसार कुलपति निशा शर्मा पोखरेलको नेतृत्वमा प्राज्ञपरिषद् सदस्य र कर्मचारी सम्मिलित टोलीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर माननीय मन्त्रीज्यूलाई उहाँकै कार्यकक्षमा प्रज्ञा–प्रतिष्ठानको तर्फबाट उक्त प्रतिवेदन पेश गरिएको हो ।
प्रतिवेदनमा मन्त्रालयबाट सीमित रुपमा प्राप्त कार्यक्रम बजेटका आधारमा प्रज्ञा–प्रतिष्ठानले वर्षभरि संस्कृति र नाट्य क्षेत्रमा सम्पन्न गरेका सम्पूर्ण कार्यहरुलाई एकमुस्ट रुपमा समेटिएको छ ।
सो अवसरमा मन्त्री पाण्डेले प्रगति प्रतिवेदन बुझ्नु हुँदै प्रज्ञा–प्रतिष्ठानलाई आफ्ना निर्दिष्ट उद्देश्य र लक्ष्य प्राप्ति गर्नका लागि प्रज्ञा–प्रतिष्ठान टोलीलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो । कुलपति शर्माले मन्त्रालयबाट सीमित रुपमा मात्र बजेट प्राप्त हुने प्रज्ञा–प्रतिष्ठानलाई थप प्रभावकारी योजना तथा कार्यक्रम सञ्चालन गर्न एवम् स्थायी रुपमा कार्यालय भवन निर्माण गर्न आवश्यक बजेट व्यवस्था गर्न अनुरोध गर्नु भएको थियो ।
प्रतिवेदन बुझाउने टोलीमा प्राज्ञपरिषद् सदस्यहरु कर्ण बहादुर गौतम, टिका पुन, हिसनबहादुर मगर र बखतबहादुर हमाल र प्रज्ञा–प्रतिष्ठानका कर्मचारी प्रशासन प्रमुख प्रदिप गुरागाईं र योजना शाखा प्रमुख प्रविन सापकोटा पनि सम्मिलित हुनुहन्थ्यो ।