सम्माननीय राष्ट्रपतिज्यूबाट ६ जना स्रष्टा सम्मानित

काठमाडौं, असार १२ गते ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सम्माननीय पराष्ट्रपति रामचन्द्र पौडेलज्यूको समुपस्थितिमा राष्ट्रपति कार्यालय शीतलनिवासमा एक समारोहको आयोजना गरी छ जना स्रष्टा तथा कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० सपर्मण गरिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १४ औँ वार्षिकोत्सवका अवसरमा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० का लागि मनोनयन गरेको स्रष्टाहरुलाई बुधबार राष्ट्रपतिज्यूबाट पुरस्कार सर्मपण गरिएको हो ।

रङ्गमञ्च विधाबाट वरिष्ठ रङ्गकर्र्मी हरिहर शर्मा, परम्परागत तथा शास्त्रीय सङ्गीत विधाबाट वरिष्ठ सङ्गीतज्ञ चन्दन कुमार श्रेष्ठ, लोक सङ्गीत विधाबाट वरिष्ठ लोक गायक बोमबहादुर कार्की, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट सम्मानित हुनुभएको हो ।

त्यसैगरी सङ्गीत विधाबाट वरिष्ठ गायिका तारा थापा, नाटक विधाबाट वरिष्ठ नाटककार गोपाल देवान, र नृत्य विधाबाट वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८० बाट सम्मानित हुनुभएको छ ।

सम्मानित छ जना स्रष्टा कलाकारलाई जनही एक लाख एक रुपैयाँ नगद सहित ताम्रपत्रले सम्मान गरिएको थियो ।

समारोहोलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले स्रष्टाहरुको सम्मान गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताउँनुहुदै नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन र विश्वभर चिनाउन स्रष्टाहरुको योगदान अविष्मरणीय रहेको बताउनु भयो । उहाँले सङ्गीत र नाट्य कला हाम्रो समाजको अभिन्न अङ्ग र भावी पुस्ताको लागि महत्वपूण सम्पत्ति रहेको बताउनुहँुदै यसको संरक्षण र संवद्र्धनमा सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मानित स्रष्टाहरुलाई बधाई दिनुहुँदै नेपाल र नेपाली पहिचानलाई विश्वसामु चिनाएको नेपालको सांस्कृतिक धरोहरलाई जोगाउन महत्वपूर्ण योगदान दिनुहुने स्रष्टा र कलाकारहरुको योगदानको चर्चा गर्नुभयो ।

पुरस्कार समर्पण समारोहका अध्यक्ष एवं कुलपति निशा शर्माले नेपाल बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय मुलुक भएको बताउनुहुँदै जसरी भौगलिक बनावटमा विविधता छ त्यसरी नै संस्कृतिमा पनि विविधता रहेको बताउनु भयो । विविधतामा एकता नेपाली समाजको विशेषता भन्ने तथ्यलाई आत्मसाथ गरी राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउनका लागि संस्कृतिको अहम भूमिका हुने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै उपकुलपति शम्भु राईले हरेक वर्ष प्रदान गरिने नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारको राशी बढाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रयास गरिरहेको जानकारी गराउनुहुँदै यसका लागि नेपाल सरकारसँग अक्षय कोष खडा गर्न निरन्तर पहल गरिरहेको बताउनुभयो ।

समारोहमा सम्मानित हुनुहुने स्रष्टाको ताम्रपत्र पढेर सुनाइएको थियो । प्राज्ञ चेतन सापकोटाले रङ्गमञ्च विधाबाट सम्मानित हरिहर शर्मा, प्राज्ञ डक्टर किरातले शास्त्रीय सङ्गीत विधाबाट सम्मानित चन्दन कुमार श्रेष्ठ, प्राज्ञ टिका पुनले लोक सङ्गीत विधाबाट सम्मानित बोमबहादुर कार्कीलाई प्रदान गरिएको ताम्रपत्र वाचन गरेर सुनाउनु भएको थियो ।

त्यसैगरी प्राज्ञ बखत बहादुर हमालले नृत्य विधाबाट सम्मानित जोगेन्द्र केसी, प्राज्ञ कर्ण गौतमले सङ्गीत विधाबाट सम्मानित तारा थापा, प्राज्ञ हिसन मगरले नाटक विधाबाट सम्मानित गोपाल देवानलाई प्रदान गरिएको ताम्रपत्र पढेर सुुनाउनु भयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराले सहजीकरण गर्नुभएको कार्यक्रममा तीन प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, सभा सदस्यहरू, पूर्व प्राज्ञ परिषद् सदस्य, पूर्व प्राज्ञ सभा सदस्य, नेपाली सङ्गीत, नृत्य तथा नाटक विधाका वरिष्ठ स्रष्टा, साधक तथा कलाकारहरु र विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

#pragyapuraskar #sangeetnatya #sangeetnatyapuraskar, #music, #dance, #folkmusic, #classicalmusic