माघ २३ गतेदेखि नेपाल–भारत रंग महोत्सव

माघ २३ गतेदेखि नेपाल–भारत रंग महोत्सव

सबै नाटक निशुल्क हेर्न पाइने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय नयाँ दिल्ली भारतसँगको सहकार्यमा माघ २३ गतेदेखि काठमाडौँमा नेपाल–भारत रङ्ग महोत्सव आयोजना गर्दैछ । महोत्सवलाई राष्ट्रिय नाचघर, जमलमा माघ २३ गते अपरान्ह ४ ः ३० बजे माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक हप्ता आयोजना हुने रंग महोत्सवमा नेपालका ३ र भारतका ३ नाटक मञ्चन हुनेछन्।

भारत र नेपालको सहकार्यमा यसरी यसरी पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवले ऐतिहासिक महत्व राख्ने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलले बताउनुभयो । महोत्सवमा भारतीय संस्कृति मन्त्रालय, सङ्गीत नाट्य अकादेमी र र राष्ट्रिय नाट्य विद्यालय, नयाँ दिल्लीका जिम्मेवार पदाधिकारी र प्रतिष्ठित कलाकारहरुको उपस्थिति रहने छ । महोत्सवको पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ।

माघ २४ गते नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ तथा माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ । त्यसै गरी माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ र माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने छ। महोत्सवमा प्रदर्शन हुने सबै नाटक हेर्नका लागि दर्शकलाई कुनै शुल्क लिइने छैन ।