समाज रुपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी महिलाको भूमिका अन्तरक्रिया तथा गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा मिति २०८२ असार १७ गते मङ्गलबार ‘समाज रुपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी महिला' विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरियो । नक्सालस्थित आफ्नै कार्यालयको सभाकक्षमा आयोजना गरिएको कार्यक्रमलाई सङ्घीय संसद्का माननीय उपसभामुख इन्दिरा रानाले पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नु भएको थियो । कार्यक्रममा सङ्गीत, नृत्य र नाट्यकर्मी महिलाले समाज रुपान्तरणमा खेल्नु भएको भूमिकाबारे छुट्टाछुट्टै तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उपसभामुख रानाले नेपालको सामाजिक रुपान्तरणमा महिला कलाकर्मी र पुरुषको बराबरी योगदान रहेको बताउनुभयो । नेपालका सबै खाले परिवर्तनमा नेपाली महिलाको निर्णायक सहभागिता रहेको चर्चा गर्नु हुँदै कुनै समयमा महिलाले नाच्न र हाँस्न नहुने अवस्थालाई महिला कलाकर्मीको निरन्तर योगदानले परिवर्तन भएको पनि स्पष्ट पार्नुभयो । महिला कलाकर्मीले कलाका माध्यममार्फत चेतना जगाई सामाजिक रुपन्तरणमा अघि बढ्नुपर्ने र त्यसका लागि एक्लै नभई सँगसँगै यात्रा गर्नु पर्ने पनि उहाँले विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले अन्तरक्रियाले विचार संश्लेषणसँगै इतिहासको अभिलेखीकरण समेत हुने भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले हरेक राजनीतिक आन्दोलनको उठान, सञ्चालन र बैठानमा कलाकर्मी अत्यन्तै ठूलो योगदान रहेको इतिहास मेट्न खोजे पनि कुनै पनि दिन सचेतताका साथ उत्खनन भएरै छोड्ने बताउनुभयो ।

 

कार्यक्रमका परिकल्पनाकार तथा कार्यक्रम संयाेजक प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा ‘प्रगति’ले समाज रुपान्तरणमा भूमिका खेलेका संस्कृतिकर्मीको सम्मान, खोज र उचित मूल्याङ्कन हुनेपर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयाे ।

 

गोष्ठीमा डा. विन्दु शर्माले ‘समाज रुपान्तरणमा नाट्यकर्मी महिलाको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँको कार्यपत्रमाथि त्रिभूवन विश्व विद्यालयका उपप्राध्यापक डा. अशोक थापाले टिप्पणी गर्नु भएको थियो । नेपाली नाट्य लेखन, निर्देशन, र चरित्र अभिनय आदि क्षेत्रमा महिला संलग्नता र प्रवृत्तिको चर्चा गर्नु हुँदै कार्यपत्र प्रस्तोता डा. शर्माले मुक्तिको आकाङ्क्षाबिना नाटकमा प्रस्तुत महिलाको सक्रियता जमिनबिनाको उडान जस्तो बन्ने धारणा राख्नुभयो । वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय आदि अनेकौँ विभेदप्रति प्रतिरोधी एवम् कलाचिन्तनमा सचेत बनेर महिला नाट्यकर्मी अघि बढे नेपाली नाटकमा महिलाको आयाम अझै विविधतामय र भविष्य झन् सुन्दर हुने उहाँले विचार व्यक्त गर्नुभयो ।

 

टिप्पणीकार डा. अशोक थापाले नेपाली नाटक भन्नाले नेपालभित्र बोलिने अन्य भाषाभाषी र आदिवासीका लोकनाटकलाई समेट्नुपर्ने सुझाव दिनुभयो । कार्यपत्रको क्यानभास ठूलो हुँदा कुन विषयलाई बुझाउने भन्नेमा कार्यपत्र स्पष्ट हुनुपर्ने र नेपालका राजनीतिक परिवर्तनले नाट्यकला र महिलामा पारेको प्रभावलाई गहिरो रुपले विश्लेषण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

नृत्यकर्मी महिलाले समाज रुपान्तरणमा पारेको प्रभावबारे कल्पना राजचल श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि समाजको समग्र परिवर्तन र रुपान्तरणमा लैङ्गिक विभेदको विमर्श शुरु भएको उल्लेख गर्नुभयो । २०४६ सालको खुला राजनीतिक वातावरणपछि सांस्कृतिक आन्दोलन, राजनीतिक दलसम्बद्ध सांस्कृतिक सङ्गठन र राज्यका विभिन्न श्रव्यदृश्य माध्यममा महिला नृत्यकर्मीको संलग्नता बढ्दै गएको उल्लेख गर्नु हुँदै उहाँले अहिले नेपाली समाजले नृत्यकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन देखा परेको तर त्यो नै पर्याप्त नभएको चर्चा गर्नु भएको थियो । कार्यपत्रउपर नृत्यविज्ञ डा. लोकनाथ दुलाले टिप्पणी गर्नु भएको थियो । विज्ञ दुलालले कला शुरुमा मनोरञ्जन, धार्मिक, व्यवहारिक र ज्ञान गरी चार चरणमा विकसित भएको चर्चा गर्नु हुँदै कार्यपत्र वैज्ञानिक र अनुसन्धान प्रणालीमा आधारित हुनुपर्ने बताउनुभयो । नृत्यकर्मी महिलाले समातामूलक समाज निर्माण, समावेशी तथा प्रतिनिधित्व, निर्णय प्रक्रियामा सहभागिता, आर्थिक, शैक्षिक सशक्तीकरण, राजनीतिक सहभागिता आदि क्षेत्रमा के कस्तो भूमिका पु¥याउन सके, पहिल्याउनु पर्ने उहाँले सुभाव दिनुभयो ।

 

सङ्गीतकर्मी महिलाको भूमिकाबारे वरिष्ठ गायिका सिता आचार्यले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले नेपाली सङ्गीतकर्मीको समग्र प्रवृत्ति तीन वटा धारा पुँजीवादी, सुधारवादी र प्रगतिशील/प्रगतिवादी धारामा आधारित रहेको निष्कर्ष निकाल्नु हुँदै प्रगतिशील/प्रगतिवादी धाराका महिला सङ्गीतकर्मीको समाज रुपान्तरणमा ठूलो भूमिका रहेको दाबी गर्नुभयो । सशस्त्र जनयुद्धकालमा आफैँ पनि सांस्कृतिक मोर्चामा सक्रिय सहभागी गायिका आचार्यले नेपाली सङ्गीतको विकसक्रमको सविस्तार व्याख्या गर्नु हुँदै समाज रुपान्तरणमा हिँडेका थुप्रै संस्कृतिकर्मी महिलाले जीवन आहुति दिएको तथ्यलाई बिर्सन नहुने जिकिर गर्नुभयो ।

 

संस्कृतिकर्मी हेमराज आश्रमले कार्यपत्र प्रगतिवादी दृष्टिकोणबाट लेखिनु राम्रो भएको तर प्रगतिवादी विचार पक्षधरप्रति केही बढी झुकाव राख्द निश्पक्षतामा प्रश्न उठ्न सक्ने विचार व्यक्त गर्नु भएको थियो । कार्यपत्रमाथि नृत्यविद् भावना कार्की, नाट्यविद् प्रवीण पुमा, विक्रम मैनाली, जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी, वरिष्ठ नाट्य निर्देशक वीरेन्द्र हमाल, नाट्यकलाकार रिमा रिमाल लगायतले महत्त्वपूर्ण सुझाव दिनु भएको थियो ।

 

 

 

 

अध्यक्ष प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राईले सबैको सहयोगले अन्तरक्रिया अत्यन्त फलदायी भएको भन्दै कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता, सुझाव दिने विज्ञव्यक्ति र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । स्वागत मन्तव्य राख्ने क्रममा नृत्य विभाग प्रमुख प्राज्ञ बखतबहादुर हमालले प्रज्ञा–प्रतिष्ठानले अन्तरक्रियामा प्रस्तुत कार्यपत्र र टिप्पणीलाई पुँजीका रुपमा ग्रहण गर्दै अघि बढ्ने बताउनुभयो ।