स्रष्टा/कलाकार परिचयपत्र विषयक छलफल आयोजना

 

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मिति २०८१ कात्तिक २९ गते बिहीबार स्रष्टा/कलाकार परिचयपत्र विषयक छलफल आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानको कार्यालय काठामाडौँस्थित नक्सालमा आयोजना गरिएको छलफलमा सङ्गीत र नाट्य विधाका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी हुनु भएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति निशा शर्मा पोखरेलले स्रष्टा/कलाकार परिचय पत्र वितरणसम्बन्धी कार्यविधि, २०७४ अनुसार २०७५ साल असार २२ गते पहिलो चरण र पछि दुई चरण गरी २ सय २६ जना स्रष्टा/कलाकारलाई परिचयपत्र वितरण गरिएपछि विभिन्न कारणले स्थगित रहेको परिचयपत्र वितरणलाई प्रज्ञा–प्रतिष्ठानले चाँडै सुचारु गर्न लागेको जानकारी दिनुभयो । उहाँले कार्यविधिलाई समय अनुकूल संसोधन गर्न आवश्यक भएकाले सरोकारवालासँग महत्त्ववपूर्ण सल्लाह/सुझाव लिएर प्राज्ञसभाबाट पारित गर्ने उद्देश्यका साथ छलफल आयोजना गरिएको पनि स्पष्ट पार्नुभयो ।

  
प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा (प्रगति)ले सहजीकरण गर्नु भएको छलफलमा सङ्गीत र नाट्य विधासम्बन्धी डेड दर्जन बढी सङ्घसंस्थाका प्रतिनिधि र प्रबुद्ध स्रष्टा/कलाकारहरुले परिचय पत्रको उद्देश्य, आवश्यकता र उपादेयताबारे महत्त्वपूर्ण सुझाव पेश गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भू राई संयोजक रहेको कार्यविधि संसोधन समितिले तयार गरेको संसोधन प्रस्तावलाई योजना शाखा प्रमुख प्रविण सापकोटाले कार्यक्रममा छलफलका लागि प्रस्तुत गर्नु भएको थियो ।

 
प्राज्ञ चेतन सापकोटाले स्थानीय तहमा सक्रिय कलाकारलाई समेत राज्यतहबाट पहिचान हुने गरी परिचय पत्र वितरण गर्ने प्रज्ञा–प्रतिष्ठानको उद्देश्य रहेको बताउनुभयो । कार्यविधि संसोधन समितिका सदस्य प्राज्ञ बखतबहादुर हमालले कुराभन्दा काम धेरै गर्नुपर्ने भन्दै सङ्गीत नाट्य विधामा सक्रिय सबै स्रष्टा/कलाकारले परिचय पत्र पाउने गरी मापदण्ड निर्धारण गरिने र मापदण्डले नभेट्ने स्रष्टा/कलाकारलाई समेत विशेष व्यवस्था अनुसार परिचय पत्र वितरण गर्न सकिने गरी कार्यविधिलाई संसोधन गर्ने बताउनुभयो ।

 
छलफलमा सहभागी अधिकांश वक्ताद्वारा परिचय पत्र वितरणको उद्देश्यबारे राखिएको जिज्ञाशामा कुलपति शर्माले राष्ट्रको गौरव निर्माणमा सक्रिय स्रष्टा/कलाकारलाई राज्यतहबाट पहिचान गरी सम्मान मात्र दिने नभएर परिचयपत्र बाहकलाई विभिन्न सेवासुविधा समेत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता जनाउनुभयो । उहाँले परिचयपत्र वितरणबाट प्राप्त शुल्क प्रशासनिक खर्च घटाएर स्रष्टा/कलाकार उपचार कोष स्थापना गर्न सकिने र सोका लागि व्यापक छलफल आवश्यक रहेको बताउनुभयो ।
छलफलमा सहभागी हुनु हुँदै तत्कालीन कार्यविधि निर्माण समितिका सदस्य समेत रहनु भएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले समय अनुसार परिवर्तन हुने भएकाले कार्यविधिलाई संसोधन गर्नु स्वागतयोग्य कार्य रहेको बताउनुभयो । २०७४ सालमा तत्कालीन उपकुलपति शम्भूजीत बासकोटाको संयोजकत्वमा गठित कार्यविधि निर्माण समितिमा सदस्य भई काम गर्दाको अनुभव सुनाउनु हुँदै स्रष्टा/कलाकार परिचय पत्रले राज्यतहबाट वास्तविक स्रष्टा/कलकारको पहिचान र सम्मान मिल्ने बताउनुभयो ।
नाट्यकर्मी प्रविण पुमाले परिचय पत्र डिजिटल प्रविधिको हुनुपर्ने, त्यसो भए स्रष्टा/कलाकारका सम्पूर्ण विवरण सङ्कलन भई प्रज्ञा–प्रतिष्ठानको योजना निर्माण र कार्यान्वयनमा ठूलो सघाउ पुग्ने विचार राख्नुभयो । सङ्गीतकर्मी बिबि अनुरागीले परिचयपत्रको श्रेणी विभाजनलाई उपाधि तवरमा लैजानुपर्ने र विधा पहिचान स्पष्ट हुनुपर्ने सुझाव दिनुभयो । प्राज्ञ महेश गोदारले कार्यविधिमा उल्लेखित उमेरहदको प्रावधान नृत्य जस्ता विधाका लागि अरु विधाजसरी उपयुक्त हनु नसक्ने भन्दै विशेष ध्यान पुग्नुपर्ने विचार राख्नुभयो । सङ्गीतकार बसन्त सापकोटाले कार्यविधि संसोधनका लागि आवश्यक सुझावसल्लाह संस्थागत र लिखित रुपमा प्रज्ञा–प्रतिष्ठानले लिन सके आधिकारिक हुने राय राख्नुभयो । सङ्गीतकर्मीै आशीष अबिरलले परिचयपत्रलाई राज्यको सेवासुविधासँग जोड्न सके मात्र त्यसको महत्त्व र उपादेयता बढ्ने धारणा प्रस्तुत गर्नुभयो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले स्रष्टा/कलाकार परिचय पत्र वितरण अत्यावश्यक भएको, एक पटक दिएपछि नवीकरण गर्नुपर्ने व्यवस्था भने हटाउनुपर्ने बताउनुभयो । नाट्यकर्मी महासङ्घका अध्यक्ष राजेन्द्र रिमालले कार्यविधि संसोधन प्रस्तावमा परिचय पत्र लिनका लागि महङ्गो शुल्क प्रस्ताव गरिएको भन्दै निशुल्क गरिनुपर्ने माग राख्नुभयो । 


संस्कृति अध्ययन अनुसन्धान परिषद्का महासचिव बैकुण्ठ महतले परिचय पत्र वितरणलाई सहज बनाउनुपर्ने तर परिचय पत्रको दुरुपयोग हुन सक्नेतर्फ पनि सजग हुनुपर्ने सुझाव दिनुभयो । जनसांस्कृतिक महासङ्घका अध्यक्ष भिम मल्लले सरोकारवालासँग छलफल गराउनु अत्यन्त सकारात्मक रहेको भन्दै प्रज्ञा–प्रतिष्ठानले स्रष्टा/कलाकार कल्याणकारी कोष निर्माणमा पनि सरकारसँग पहल गरिरहेको होला भन्ने आशय व्यक्त गर्नुभयो । रक्तिम सांस्कृतिक परिवारका अध्यक्ष गिरी बुढाले कार्यविधि नीतिगत रुपमा स्पष्ट हुनुपर्ने भन्दै लोकप्रियता र सङ्ख्यालाई भन्दा साधना र सृजनालाई प्राथमिकतामा राखेर परिचय पत्र वितरण गरिनुपर्ने सुझाव दिनुभयो । अपन स्वर्ग नेपालका अध्यक्ष झोटन मेहताले हिमाल, पहाड, मधेस सबै तह र तप्का क्रियाशील स्रष्टा/कलाकारले परिचय पत्र प्राप्त गर्न सक्ने कार्यविधि बन्नुपर्ने बताउनुभयो । सङ्गीतकर्मी सङ्घका उपाध्यक्ष अमृत खातीले गीत रेकर्डिङ गर्ने गायकगायिकाले मात्र नभएर प्रत्यक्ष लोकदोहोरी गाउने कलाकारले पनि परिचय पत्र पाउन सक्ने प्रावधान हुनुपर्ने बताउनुभयो । सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले सम्पूर्ण कलाकारहरुलाई परिचय पत्र लिनुको उद्देश्य स्पष्ट भए महत्त्व पनि बढ्ने बताउनुभयो । हास्यव्यङ्ग्य कलाकार खबपु चञ्चलले कार्यविधिले स्टेज शो गर्ने हास्यव्यङ्ग्य कलाकारलाई पनि समेट्न अनुरोध गर्नुभयो । छलफलमा नृत्य निर्देशक सङ्घका अध्यक्ष भूवनदास श्रेष्ठ, वरिष्ठ नृत्य प्रशिक्षक नारायणदेवी प्रधान, खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई, वरिष्ठ लोकगायक उदिराम खड्का, प्राज्ञ दुर्गा रायमाझी, राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष प्रकाश कटुवाल, गीतकार माधवराज खरेल, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, गीतकार भरत बम्जन, सङ्गीतकर्मी अष्ट लामा लगायतले आफ्ना महत्त्वपूर्ण सल्लाहसुझाव दिँदै लिखित रुपमा पनि पेश गर्ने बताउनुभयो । 
सदस्यसचिव महराले छलफलबाट प्राप्त महत्त्वपूर्ण सल्लाहसुझावलाई प्राज्ञपरिषद् र कार्यविधि संसोधन समितिको बैठकमा छलफल गरेर प्राज्ञसभामा पेस गर्ने प्रतिबद्धता जनाउनुभयो । छलफलमा प्राज्ञपरिषद् सदस्यहरु डक्टर किरात, टिका पुन, हिसनबहादुर मगर, प्राज्ञसभा सदस्य देवकुमार चौधरी, वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधान, राष्ट्रि जनसांस्कृतिक महासङ्घ समाजवादीका अध्यक्ष कृपाराम अधिकारी, अठार मगरात सांस्कृतिक सङ्घका अध्यक्ष अमर रोका, मगर कलाकार सङ्घका अध्यक्ष दिपसागर थापा, रक्तिम सांस्कृतिक परिवारका महासचिव हेमराज आश्रम, अठार मगरात कलाकार सङ्घका कार्यवाहक अध्यक्ष नन्द घर्ती, नेपाल लोकदोहोरी प्रतिष्ठानका महासचिव शिव हमाल लगायतको उपस्थिति रहेको थियो ।