थारु जातिको नृत्य सङ्गीत परम्परासम्बन्धी परिचर्चा एवं नृत्य प्रस्तुति सम्पन्न
चैत्र १३ गते २०७८ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे परम्परागत तथा शास्त्रीय सङ्गीत विभागको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको समन्वय तथा सहकार्यमा एक प्रदेश एक परम्परा अन्तर्गत लुम्बिनी प्रदेशकाे कोहलपुर, बाँकेमा चैत १२ गते थारु जातिको नृत्य सङ्गीत परम्परासम्बन्धी परिचर्चा एवं नृत्य प्रस्तुति सम्पन्न भएकाे छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परम्परागत सङ्गीत विभागका प्रमुख धीरेन्द्र प्रेमर्षिकाे सभापतित्व र कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी चौधरीकाे प्रमुख आतिथ्यतामा प्रारम्भ भएकाे कार्यक्रममा थारू जातिको नृत्य-सङ्गीत परम्परा अन्तर्गत बर्का नाचमा केन्द्रित कार्यपत्र तथा टिप्पणी प्रस्तुतिका साथै थारू जातिका विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएका थिए । थारू भाषा-संस्कृतिका अध्येता तथा अनुसन्धानकर्ता सुशील चौधरी (बर्दिया)ले प्रस्तुत गर्नुभएकाे कार्यपत्रमाथि थारू सांस्कृतिक अभियन्ता छविलाल कोपिला (दाङ) र साहित्यकार/सञ्चारकर्मी कपिल अञ्जान (बाँके)ले टिप्पणी गर्नुभएकाे थियाे ।
साथै कार्यक्रममा प्यूठानको सिङ्गारू नाचकाे पनि विशेष प्रस्तुति रहेकाे थियाे ।